गाली खाने अवस्था कम गर्न गभर्नरसँग स्वर्णिमको आग्रह



काठमाडौं । प्रतिनिध सभा अन्तर्गतको अर्थ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले हिमालयन बैंकमा रहेको हबिबको सेयर बिमा कम्पनीले किन्न लागेको चर्चा रहेको भन्दै एकै घरानालाई किन्न दिने कि नदिने भन्दै प्रश्न गरेका छन् ।

बुधबार अर्थ समितिको बैठकमा सांसद वाग्लेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रश्न गर्दै हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको सेयर बिक्रीका बारेमा प्रश्न गरेका हुन् ।

वाग्लेले राष्ट्र बैंकको प्रतिरक्षा गर्दा आफूले धेरै गाली खानु परेको बताए । अब गाली खाने अवस्था कम गर्न उनले गभर्नरसँग आग्रह गरे ।

राष्ट्र बैंकले लिएको नीतिले पारेको प्रभावका बारेमा जानकारी गराउनु पर्ने र त्यो नीति लिनका कारण सार्वजनिक हुनुपर्ने उनको भनाइ छ । ‘यस्तो भयो भने जनतालाई न्याय हुन्छ’ उनले भने । अहिले पैसा थुप्रिएको र कर्जा जान नसक्नु चिन्ताको बिषय भएको बताए । अहिले घर जग्गा धितो राखेर ऋण लिन समस्या परेको हो भने राष्ट्र बैंकले त्यसको जानकारी गराउनु पर्ने उनले बताए ।

सांसद पूर्णबहादुर तामाङले बैंक ब्याजदर एकल अंकमा राख्न माग गरे । सांसद तामाङले अर्थमन्त्रीले काम गर्न नसक्दा बहुवर्षीय आयोजनाको ठेक्का लाग्न नसकेको बताए ।

रास्वपा सांसद विराजभक्त श्रेष्ठले राष्ट्र बैंकको मेहनतका कारण नेपाल कालोसूचीमा पर्नबाट जोगिएको भन्दै खुसी व्यक्त गरे ।

अहिले सहकारीमा समस्या बढिरहेको भन्दै उनले बचतकर्ता आत्महत्याको बाटोमा गइरहेकाले समस्या समाधानतर्फ लाग्न आवश्यक रहेको बताए ।

राष्ट्र बैंकप्रति सबैको अपेक्षा बढेको उनको भनाइ छ । नेताले भ्रष्टाचार गर्न सक्ने क्षेत्रमा लगानी गर्दा महंगी बढेको र त्यसले ब्याजदर पनि बढेको उनले दाबी गरे ।

ब्याजदर एकबाट दुई अंकमा किन गयो भन्ने खोज्ने बेला भएको बताए । इन्धनबाट ५ रुपैयाँ छुट्याएको बुढीगन्डकी आयोजना कहाँ पुग्यो भनेर हेर्न उनले आग्रह गरे ।

किसानका लागि निश्चित ब्याजदर तोक्न र बाहिरबाट आयात हुने सामानमा बढी कर लगाउन उनले सुझाव दिए । किसानकोमा जाने अनुदान नेताहरु मिलेर खाने गरेको उनको आरोप छ । मल, सिन्चाई, चिस्यान केन्द्र किसानको माग रहेको भन्दै उनले किसानलाई ५ प्रतिशतभन्दा कम ब्याजदरमा लोन दिनु पर्ने बताए । साना तथा मझौला उद्योगलाई पनि ब्याजदर कम गर्न आग्रह गरे ।

सांसद रामनाथ अधिकारीले अहिले राष्ट्र बैंक र सरकारको कुरा नमिलेको चर्चा चुलिँदै गएको बताए । अहिले सटर पसल बन्द हुने क्रम बढेको भन्दै यो बेला ब्याजदर एकल अंकमा हुनुपर्ने उनले बताए ।


क्लिकमान्डु