गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले बुझे २ करोड तलब भत्ता, गभर्नरको करिब १२ लाखले बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नरद्वयसहित सञ्चालक समितिलाई तलब भत्ता बापत २ करोड ५ लाख ८२ हजार १२६ रुपैयाँ भुक्तानी गरेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० मा उक्त रकम तलब भत्ता बापत १२ जनाका लागि खर्च गरेको हो ।

केन्द्रीय बैंकले सञ्चालक समिति सदस्यहरूलाई तलब बापत ४५ लाख ५२ हजार ८ सय रुपैयाँ, सञ्चालकलाई बैठक भत्ता बापत २३ लाख ५८ हजार रुपैयाँ, बैठक भत्ता र अन्य खर्च बापत १ करोड ३६ लाख ७१ हजार ३२६ रुपैयाँ भुक्तानी गरेको छ ।

यो अवधिमा राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई ६० लाख ९१ हजार ३३५ रुपैयाँ तथा तलब भत्ता बापत भुक्तानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११ लाख ८६ हजार १०० रुपैयाँले बढी हो।

राष्ट्र बैंकले अघिल्लो आवमा गभर्नर अधिकारीलाई तलबभत्ता बापत ४९ लाख ५ हजार २५५ रुपैयाँ भुक्तानी गरेको थियो । गत आवमा गभर्नर अधिकारीलाई तलब बापत १६ लाख ३२ हजार, सञ्चालक समितिको बैठक भत्ता बापत ४ लाख १४ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै डेपुटी गभर्नर डा. निलम ढुंगाना (तिम्सिना)लाई राष्ट्र बैंकले ५७ लाख २ हजार ३६१ रुपैयाँ भुक्तानी गरेको छ । तलब बापत उनलाई राष्ट्र बैंकले १४ लाख ६० हजार ४ सय, बैठक भत्ता बापत ३ लाख ४२ हजार र अन्य सेवा सुविधा बापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै केन्द्रीय बैंकले डेपुटी गभर्नर बमबहादुर मिश्रलाई ५३ लाख २२९ रुपैयाँ भुक्तानी गरेको छ । मिश्रलाई तलब वापत १४ लाख ६० हजार ४ सय, बैठक भत्ता बापत ३ लाख ७८ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३४ लाख ६१ हजार ८२९ रुपैयाँ भुक्तानी गरेको छ ।

गत आवमा केन्द्रीय बैंकले राष्ट्र बैंकका सञ्चालक समेत रहेका अर्थसचिव कृष्णहरी पुस्करलाई बैठक भत्ता भत्ता बापत १ लाख ४४ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत १ लाख ११ हजार २२१ रुपैयाँ भुक्तानी गरेको छ ।

अर्थ मन्त्रालयमा अर्थ सचिव परिवर्तन भएसँगै राष्ट्र बैंकको सञ्चालक पनि परिवर्तन हुने गरेको छ । गत आवमा ४ जना अर्थ सचिव परिवर्तन भएका छन् ।

राष्ट्र बैंकले मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक अर्जुन प्रसाद पोखरेललाई बैठक भत्ता बापत ९९ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत २९ हजार १८६ रुपैयाँ भुक्तानी गरेको छ भने तोयम रायालाई बैठक भत्ता भत्ता बापत ९९ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत ७० हजार ९९२ रुपैयाँ तथा मधुकुमार मरासिनीलाई बैठक भत्ता बापत १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै सञ्चालक चिन्तामणी शिवाकोटीलाई बोर्ड बैठक बापत भत्ता ४ लाख ५ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत ११ लाख ५९ हजार ३८२ रुपैयाँ, डा. शंकर प्रसाद आचार्यलाई बैठक भत्ता बापत ३ लाख ६० हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत ६ लाख ४८ हजार ४०८ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै डा. रविन्द्र प्रसाद पाण्डेलाई बैठक भत्ता बापत ९९ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत २ लाख ४५ हजार १२ रुपैयाँ भुक्तानी गरेको छ ।


क्लिकमान्डु