गोलाप्रथाका क्रममै स्थगित सूचीमा पर्यो एनसेलको आयकरसम्बन्धी मुद्दा, अर्को पेसी कहिले ?
काठमाडौं । एनसेल आजियाटा लिमिटेडको आयकरसम्बन्धी मुद्दाको सुनुवाइ मंगलबारका लागि स्थगित भएको छ । सर्वोच्च अदालतमा विचाराधीन एनसेलको आयकरसम्बन्धी मुद्दा गोलाप्रथाका क्रममै स्थगित सूचीमा परेको हो ।
सर्वोच्चमा गोला तान्ने क्रममा एनसेलको विवादित लाभकरसम्बन्धी मुद्दाको पेसी सूची कुनै पनि न्यायाधीशबाट नतानिएपछि स्थगनमा परेको जनाइएको छ । उक्त मुद्दाको अर्को पेसी फागुन १५ का लागि तोकिएको छ ।
स्विडिस कम्पनी टेलियासोनेरासँग मलेसियन कम्पनी आजियटाले सेयर खरिद गर्दा लाभकर छलेको भन्दै ठूला करदाता कार्यालय ललितपुरले एनसेललाई ५७ अर्ब लाभकर निर्धारण गरेको थियो । ठूला करदाताको निर्णयमा असन्तुष्टि जनाउँदै एनसेलले आन्तरिक राजस्व विभागमा निवेदन दियो ।
विभागले ठूला करदाता कार्यालयकै निर्णय सदर गर्यो । त्यसपछि एनसेल राजस्व न्यायाधीकरण पुग्यो । न्यायाधीकरणले पनि ठूला करदाताको निर्णयलाई सदर गर्यो ।
त्यसपछि एनसेल २०७७ पुस २६ गते सर्वोच्च गएको थियो । ती सबै निर्णयलाई चुनौती दिँदै एनसेलले सर्वोच्चमा उत्प्रेषणको रिट दर्ता गराएको हो ।