जनकपुरमा विमान अवतरण हुन नसकेपछि काठमाडौं फर्किएका प्रधानमन्त्री हेलिकप्टमा बर्दिबास पुगे
काठमाडौं । बुध्द एयरको विमान जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल हेलिकप्टरमा बर्दिबास पुगेका छन् ।
प्रधानमन्त्री दाहाल सवार बुध्द एयरको विमान आज विहान जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।
काठमाडौंबाट उडेको बुध्द एयरको विमान खराब मौसममा कारण जनकपुरमा अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
काठमाडौंबाट विहान पौने ९ बजेतिर उडेको विमान जनकपुरको आकाशबाट करिब साढे ९ बजेतिर फर्किएको हो ।
यान्त्रिक उपकरणको सहयोगमा हुने इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) विधिबाट जनकपुरका लागि उडेको विमान १२ सय मिटरको भिजिविलिटीमा अवतरण हुन नसकेको जनकपुर विमानस्थलका एक अधिकारीले जानकारी दिए ।
‘काठमाडौंबाट जनकपुर आउँदा यहाँको भिजिबिलिटी १७ सय मिटर थियो’ जनकपुरविमानस्थल प्रमुख भीमदत्त पन्तले भने, ‘तर यहाँ विमान जनकपुर आइपुग्दा भिजिबिलिटी घटेर १२ सय पुग्यो ।’
भिजिबिलिटी कम भएपछि उक्त विमान जनकपुरको आकाशमा करीब १५ मिनेट होल्ड भएको थियो । तर मौसममा सुधार नभएपछि विमान काठमाडौं फर्किएको उनले बताए ।
भिजिबिलिटी १७ सय मिटर भएपछि विमानस्थल अहिले भने विमानस्थल खुलेको छ । बुध्दको एटीआर ७२ विमानमा प्रधानमन्त्री दाहालसहित ६५ जना यात्रु सवार थिए ।
विमान फर्किएपछि प्रधानमन्त्री दाहाल काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबास गएका हुन् । पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी महोत्तरीको बर्दिबास पुगेका हुन् ।
अध्यक्ष दाहाल बिहान ९ बजेदेखि बर्दिबास–४ माइस्थानमा दलको तीन महिने रुपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी रहेको माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लिलामणि पोखरेलले बताए ।
बैठकमा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इञ्चार्ज र रुपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानारे समीक्षा भइरहेको जानकारी दिए । प्रदेशका आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष दाहालले थप निर्देशन दिने छन् ।
दाहाल आजै दिउँसो जिल्लाको गौशाला–५ स्थित बहुद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।
प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुनेछन् । सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्कने कार्यक्रम छ ।