हवाई टिकट चोरी घटनामा थप एक जना पक्राउ



काठमाडौं । जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।

सिआइबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार पक्राउ पर्नेमा मस्याङ्दी ट्राभल्सका सञ्चालक तथा पर्वत घर भएका ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेका छन् ।

उनले भने, ‘जियोल्याण्ड ट्राभल्सको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा सुवेदीलाई पक्राउ गरिएको हो । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

यसअघि मङ्सिर ६ गते ब्युरोको टोलीले सामाखुसीस्थित मस्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । आरोपीहरुले बालुवाटारस्थित जियोल्याण्डको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ ।

ह्याकरहरुले पटकपटक गरेर १ करोड ९९ लाख ८२ हजार रुपैयाँ बराबरको टिकट चोरी गरेको ब्युरोको अनुसन्धानबाट खुलेको प्रवक्ता कुँवरले बताए । उनले भने,’अहिलेसम्म कम्तीमा पनि ३ सय ३७ नेपाली र विदेशी नागरिकका नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको छ ।’


क्लिकमान्डु