सवा ६ अर्ब लगानी थप गरी क्षमता विस्तार गर्दै मारुती सिमेन्ट, ११ प्रतिशतले घट्यो व्यापार



काठमाडौं । राठी ग्रुप र गोयल ग्रुपको संयुक्त लगानीमा सञ्चालन रहेको मारुती सिमेन्टले उद्योगको क्षमता थप गरेको छ । कम्पनीले हाल सञ्चालनमा रहेको क्षमतालाई थप गरी उत्पादन बढाउने तयारी गरेको हो ।

कम्पनीले हाल दैनिक १५ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्दै आएको छ । त्यसमा कम्पनीले लगानी थप गरी दैनिक ३३ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने गरी उद्योग विस्तार गरेको हो । त्यसैगरी, कम्पनीले दैनिक २ हजार ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएकोमा दैनिक ४ हजार मेट्रिक टन उत्पादन गर्ने गरी विस्तार गरिरहेको जनाएको छ ।

कम्पनीअनुसार उक्त उद्योग विस्तारका लागि ६ अर्ब २१ करोड लाग्ने छ । जसमध्ये ६३ प्रतिशत बैंकबाट र ३६ प्रतिशत कम्पनीले लगानी गर्ने भएको छ । अहिले क्षमता विस्तार गरेको उद्योग परीक्षणको क्रममा भएकाले आगामी २०२४ देखि भने व्यावसायिक कारोबार गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले आगामी दिनमा सिमेन्टको माग बढ्ने भन्दै उद्योगको क्षमता बढाएको जनाएको छ । त्यस्तै, कम्पनीले ५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ अर्थात् ए माइनस र अल्पकालीन कर्जाका लागि १ अर्ब ८९ करोड ८१ लाख रुपैयाँ अर्थात् एटुप्लस रेटिङ पाएको छ ।
कम्पनीको व्यापार ११ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ११ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२२ मा ५ अर्ब ५ करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँ (अपरिष्कत)को व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२३ मा १४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२२ मा २५ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।
कम्पनीको व्यापार हरेक वर्ष घट्दै गएको देखिएको छ । सन् १९९४ मा स्थापना भएको कम्पनीले क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीसँग दैनिक १५ सय मेट्रिक टन क्लिङ्कर र २ हजार मेट्रिक ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता छ । त्यसैगरी, कम्पनीले दैनिक २ हजार मेट्रिक टन क्षमतामा ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने गरी उद्योगलाई विस्तार गरेको छ । सन् २०२३ देखि भने प्रशिक्षण गरिरहेको कम्पनीको भनाइ छ । त्यसमा आगामी सन् २०२४ को जनवरीदेखि भने व्यवसायिक कारोबार गर्ने भएको छ ।
नन्दकिशोर राठी अध्यक्ष र सुनिल खेम्का प्रबन्ध निर्देशक रहेको कम्पनीले ‘मारुती’ ब्राण्डमा उत्पादित सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । नारायाणघाट रकक काँकडभिट्टा मुख्य बजार रहेको कम्पनीको देशभर करिब दुई सय वितरक छन् ।
कम्पनीले आन्तरिक तथा आयातित कच्चा पदार्थबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको आफ्नै चुनढुङ्गा उत्पादन गर्ने क्षमता छ । कम्पनीले कटारीको झाँकी खोलाबाट चुनढुङ्गाका लागि हालै मात्रै लाइसेन्स लिएको छ । उक्त क्षेत्रबाट १४ करोड टन चुनढुङ्गा उत्पादन हुने अपेक्षा गरेको छ । चुनढुङ्गा उत्खनन क्षेत्रबाट दैनिक ३३ सय मेट्रिक टन चुनढुङ्गा उत्पादन गरेपनि आगामी तीन दशकसम्म चल्ने कम्पनीको भनाइ छ ।
कम्पनीले कोइला, चुनढुङ्गा, कक्सिट, जीपसम, क्ले र आइरन ओरजस्ता कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्दै आएको छ । कम्पनीले कोइला साउथ अफ्रिका र अन्य देशबाट आयात गर्दै आएको छ ।


क्लिकमान्डु