४ महिनामा सार्वजनिक ऋणको भार साढे ३१ अर्ब थपियो, १ खर्ब १३ अर्ब लिँदा ८१ अर्ब मात्रै भुक्तानी



काठमाडौं । सरकारलाई ४ महिनामा सार्वजनिक ऋणको भार साढे ३१ अर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार सार्वजनिक गरेको एक तथ्यांक अनुसार सार्वजनिक ऋणको भार बढेर २३ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सरकारले लिएको यस्तो ऋणको भुक्तानी जनताबाट उठाएकोृ करबाटै गर्नुपर्ने भएकोले यो ऋण नेपालीकै लागि लागेको मानिन्छ ।

यस्तो ऋणमा चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना साउनदेखि कात्तिकसम्मा सार्वजनिक ऋणको भार साढे ३१ अर्ब ५१ करोड ८६ लाख रुपैयाँले थपिन पुगेको छ । चालू आवमा मात्रै १ खर्ब १३ अर्ब लिँदा ८१ अर्ब ६४ करोड रुपैयाँ मात्रै भुक्तानी भएको पनि तथ्यांकले देखाएको छ ।

यो अवधिसम्ममा सरकारको तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड छ भने बाह्य ऋण ११ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

तथ्यांक अनुसार सरकारले चालू आवको ४ महिनामा ९७ अर्ब ३१ करोड आन्तरिक ऋण उठाएको छ । यस्तो ऋण बाह्यमा भने १५ अर्ब ८५ करोड रुपैयाँ मात्रै छ ।

सरकारले हालसम्म लिएको ऋणका लागि चालू आवको कात्तिकमा मात्रै आन्तरिक ऋण ६५ अर्ब ४५ करोड भुक्तानी गरेको छ भने बाह्य ऋण १६ अर्ब १८ करोड भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकमा उल्लेख छ ।  


क्लिकमान्डु