स्टिल उड इन्टरप्राइजेजको व्यापार ३५ प्रतिशतले घट्यो, १ अर्ब ३२ करोडको कारोबार



काठमाडौं । स्टिल उड इन्टरप्राइजेजको व्यापार ३५ प्रतिशतले घटेको छ । विकास निर्माणका काम तीब्र गतिमा बढ्न नसक्दा बजारमा सामग्रीको माग नहुँदा कम्पनीको व्यापारमा उच्च कमी आएको छ ।

कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ३५ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२२ मा २ अर्ब ४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२३ मा १ अर्ब ३२ करोड ६० लाख (अपरिष्कृत)को व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१० मा जगदम्बा बिक्री केन्द्रको नाममा दर्ता भएको कम्पनी पछि स्टिल उड इन्टरप्राइजेजमा परिवर्तन गरेको थियो । सुनिल रुङ्गटा र अनोज रुङ्गटाको बराबर हिस्सा रहेको कम्पनीले निर्माण सामग्री र हार्डवेयर सामग्री बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३६ करोड २६ लाख रुपैयाँ अर्थात् बीप्लस र अल्पकालीन कर्जाका लागि ५३ करोड ७३ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले स्टिल वुडसँगै विशाल ट्रेडिङ र विशाल हार्डवेयर कम्पनीमार्फत् व्यापार गर्दै आएको छ । कम्पनीको देशभरका चार प्रदेशमा ६ वटा शाखा छन् । कम्पनीले डण्डी, एचआर पाइप, एचआर सिट र अन्य विभिन्न सामग्री बिक्री वितरण गर्दै आएको छ। कम्पनीले स्वदेशमा नै उत्पादन भएको सामग्रीको बिक्री वितरण गर्ने गरेको छ । जसमा कम्पनीले ०.१५ प्रतिशत मात्रै कच्चा पदार्थ आयात गर्ने गरेको जनाएको छ ।

कम्पनीले सन् २०२३ मा ८.६५ प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा ५.७२ प्रतिशत नाफा कमाएको थियो ।


क्लिकमान्डु