सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् ।

छैटौं सामाजिक सुरक्षा दिवस २०८० का अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा ढकालले ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेकाले केही समयमै यो संस्था सबैभन्दा धेरै पैसा भएको नेपालको संस्था बन्ने बताए ।

‘४५ अर्ब रुपैयाँ फन्ड बैँकमा राखेर हुँदैन । कार्यविधि बनाएर यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ,‍ कोष स्थापना भएको भर्खर ६ वर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण काम गरेको छ,’ उनले भने ।

कार्यक्रममा ढकालले कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउँदै राज्यको दूरदराजमा रहेका विपन्न जनता, जो वैदेशिक रोजगारीमा जान चरम आर्थिक संकट बेहोरिरहेका छन्, तिनको सहजीकरणमा लगानी गर्नसमेत सुझाव दिए ।

अध्यक्ष ढकालले कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरु र श्रमिकको सम्बन्ध सुमधुर बनाएको बताए ।

ढकालले श्रम सम्बन्ध सुधार र श्रम क्षेत्रमा समस्या समाधान गर्नेतर्फ उल्लेखनीय सफलता प्राप्त गरेको बताउँदै लामो छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानुनी र संस्थागत व्यवस्था भएको बताए ।

‘यो नीतिगत सुधारले सामाजिक रुपान्तरणका हाम्रो प्रयासमा ठूलो सहयोग पुग्न हामीले विश्वास लिएका छौं,’ उनले भने । अध्यक्ष ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल र प्रभावकारी कार्यान्वयनमा महासंघको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

ढकाल कोषको सञ्चालक समिति सदस्य हुन् । तर, उनी अध्यक्ष रहेको आईएमई ग्रुपका कुनै पनि संस्थामा कोषमा आबद्ध भएका छैनन् ।


क्लिकमान्डु