‘नबिल एसएसई’ दोस्रो वर्षमा, यस्तो छ कार्यक्रमको उद्देश्य



काठमाडौं । सामाजिक उद्यमशीलता विकासका लागि नबिल बैंकले सुरु गरेको नबिल एसएसई (नबिल स्कुल अफ सोसल आन्टरप्रिनरसिप) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको कार्यक्रम सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् ।

दुई वर्षको अवधिमा ३३५ विद्यार्थीले कार्यक्रममा सहभागिता जनाएको नबिल बैंकले जनाएको छ । जसमध्येबाट ५२ वटा उद्यम जन्मँदा ८६९ जनाले रोजगारी पाएका छन् ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमका कारण सामाजिक वित्त प्रवर्धनमा बैंकको भूमिका थप बढेको बताए । ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवर्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौं,’ अध्यक्ष पौड्यालले भने । उनले जनताको जीवनस्तरमा सुधार ल्याउन बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिक उद्यमीलाई प्रवर्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी गराए । ‘ दिगो बैंकिङ र सामाजिक उद्यमशीलतामार्फत समाजमा उल्लेखनीय परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं,’ उनले भने ।

नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच, र सामाजिक उद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्न कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन् । नबिल एसएसई कार्यक्रमअन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम छन् ।

नबिल एसएसई फेलोहरूको सफलताका कथाहरू अहिले सबैका लागि प्रेरणादायी बनेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाले सुझाएका छन् । कार्यक्रममा सहभागीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित पुरस्कार पाउन सफल भएका छन् भने उद्यमशीलता विकासमा उदाहरणीय काम गरेका छन् ।

कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आईसीटी अवार्ड २०२२ र स्टार्ट अप वल्र्डकप जित्न सफल भएका छन् । महर्जनले नबिल एसएसई टोलीप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘कार्यक्रममा आबद्ध भएपछि मैले आफ्नो व्यावसायिक विचार, ब्रान्डिङ, मार्केटिङ र नेटवर्किङका अवसरहरूमा ध्यान केन्द्रित गर्न सिकेँ, जसले मलाई धेरै मद्दत गर्‍यो ।’

यमबहादुर कार्की, दिव्या महर्जनलगायतले पनि उदाहरणीय काम गरेका छन् । उनीहरूले किसानलाई सहयोग गर्ने प्रकारका कार्यक्रम र नवीन शैलीबाट सौन्दर्य सामग्री उत्पादनमा महत्वपूर्ण योगदान गरेका छन् ।

उद्यमशीलतालाई बढावा दिन, सामाजिक उद्यमशीलतामार्फत समाजमा अर्थपूर्ण योगदान गर्न नबिल एसएसई कार्यक्रम प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु