गैरबैंकिङ सम्पत्ति बढ्न थालेपछि धमाधम घर जग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक



काठमाडौं । गैरबैंकिङ सम्पत्ति बढ्न थालेपछि बैंकहरुले धमाधम आफ्नो नाममा आएका घर जग्गा बिक्री गर्न थालेका छन् ।

एनआईसी एशिया बैंकले काठमाडौंसहित विभिन्न जिल्लामा रहेको आफ्नो जग्गा बिक्री गर्ने भएको हो । बैंकले काठमाडौं, रुपन्देही र सुनसरी जिल्लामा रहेको घर जग्गा बिक्री गर्न लागेको हो ।

एनआईसी एशियाले बैंकको नाममा दर्ता रहेको जग्गा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागिएको हो । उक्त सम्पति खरिद गर्न ईच्छुक व्यक्ति/फर्म/कम्पनी/संघ संस्थाहरुले १५ दिनभित्र जग्गा खरिद गर्न चाहेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गरी बोलपत्रमा सहभागी हुनुपर्ने छ ।

बोलपत्रदाता व्यक्ति भए नागरिकता प्रमाणपत्रको प्रतिलिपी सम्पर्क विवरण र फर्म/कम्पनी/संस्था भरमा दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा संस्थागत प्रतिनिधित्वका लागि सञ्चालक समितिको निर्णय जस्ता आवश्यक अख्तियारी देखिने अद्यावधिक कागजातहरु सहित बैंकको रजिष्टर्ड कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले काठमाडौं महानगरपालिका–६ स्थित कित्ता नं २१० र ३ को क्षेत्रफल क्रमशः ३१८. ५६ वर्ग मिटर (१० आना ०.३ दाम) र ४६२.८ वर्ग मिटर (१४ आना २ पैसा ०.८ दाम जग्गा बिक्री गर्न लागेको हो ।

यस्तै बैंकले रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका– ११/२ (क) स्थित किता नंः १११६८ र १११७० को ११.५ धुर र २० विघा १ कठ्ठा १६ धुर जग्गा र त्यसमा बनेको घर/टहरा र उक्त घरजग्गाले पर्चेको सम्पूर्ण जग्गा बिक्री गर्ने भएको छ ।

यसैगरि, बैंकले सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका-१ स्थित कित्ता नं ४९८, ५००, ८३०, ८३१ र २७१ को क्रमशः ३ धुर, १० धुर, ३ धुर गरी १ कठ्ठा १३ धुर जग्गा र त्यसमा बनेको घर र उक्त घरजग्गाले चर्चेको जग्गा बिक्री गर्न लागेको हो ।

बैंकले गैरबैंकिङ सम्पत्ति बढी राख्दा जोखिम प्रावधान (प्रोभिजन) गर्नुपर्ने लगायतका कारण घर जग्गा बिक्री गर्न लागेको छ । अन्य बैंकले पनि आफ्नो स्वामित्वमा देशका विभिन्न स्थानमा रहेका घर जग्गा बिक्री गर्न लागेका छन् ।

असोजमा राष्ट्रिय वाणिज्य बैंकले पनि गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने सूचना जारी गरेको थियो । बैंकले आफ्नो स्वामित्वमा रहेको कबि साढे ७ करोड रुपैयाँ बराबरको बैंकको शाखा कार्यालय अत्तरिया र गौरको नाममा रहेको ७ करोड ३५ लाख रुपैयाँको गैर बैंकिङ सम्पत्ति बिक्री गर्न सूचना जारी गरेको थियो ।


क्लिकमान्डु