काठमाडौं महानगरपालिकाले संकलन गर्‍यो लक्ष्यको २७ प्रतिशत राजस्व



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ ।

वार्षिक १० अर्ब ८० करोड ७८ लाख २० हजार लक्ष्यमा साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ लाख ९६ हजार ९ हजार ७२९ रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

गत वर्षको भन्दा यो धेरै हो । गत वर्ष यस अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो । गत वर्ष लक्ष्य १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ रहेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रुपैयाँ संकलन भएको थियो ।

शीर्षकगत रुपमा हेर्दा प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत रकम संकलन भएको छ । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएको थियो ।

१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख ९३ हजार ५५४ रुपैयाँ (२७.९१%) राजस्व संकलन भएको छ । गएको वर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएको थियो । पहिलो चौमासिकमा ५२ करोड ४७ लाख ८० हजार ८४ रुपैयाँ (५२.४८%) प्रतिशत राजस्व उठेको थियो ।

यस वर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घरबहाल करमा ८१ करोड ९२ लाख ५१ हजार ८३७ रुपैयाँ (३०.८०%) राजस्व संकलन भएको छ । यही शीर्षकमा गत वर्ष २ अर्ब लक्ष्य राखिएको थियो । यस अवधिमा लक्ष्यको ३९.१९ प्रतिशत अर्थात्  ७८ करोड ३७ लाख ५ हजार १५३ रुपैयाँ संकलन भएको थियो ।

यस वर्ष १ अर्ब २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रुपैयाँ (९.१०%) राजस्व संकलन भएको छ । यस शीर्षकमा गएको वर्ष २ अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएको थियो भने ११ करोड ६८ लाख ३५ हजार ४८६ रुपैयाँ (४.६७%) राजस्व संकलन भएको थियो ।

राजस्व विभागका प्रमुख काफ्लेले घरजग्गा कारोबार घटेकाले घरजग्गा रजिष्ट्रेसन दस्तुरको लक्ष्य पनि घटाइएको बताएका छन् । ‘घरजग्गाको कारोबार सबै समयमा एकै प्रकारको छैन । कहिले धेरै र कहिले कम हुन्छ । तीन वर्षदेखिको घरजग्गा रजिष्ट्रेसनबाट प्राप्त भएको दस्तुरको विश्लेषण गर्दा कारोबार घटिरहेको अवस्था देखिएको र कित्ताकाटका लागि सरकारले छिटोछिटो निर्णय परिवर्तन गरेकाले यस शीर्षकमा राजस्व संकलनको लक्ष्य घटाएका हौँ,’ उनले भने ।

यस वर्ष ससर्त अनुदान चालुतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रुपैयाँ र ससर्त अनुदान पुँजीगततर्फ २९ करोड ५० लाख रुपैयाँ लक्ष्य राखिएको छ । यी शीर्षकमा क्रमशः ३५ करोड ६६ लाख ११ हजार ५ सय रुपैयाँ (२४.९९%) र ७३ लाख ७५ हजार रुपैयाँ (२५.००%) प्राप्त भएको छ ।

गएको वर्ष यी शीर्षकमध्ये चालुतर्फ १ अर्ब २८ करोड ९६ लाख ६ हजार रुपैयाँ र पुँजीगतर्फ २४ करोड १० लाख रुपैयाँ लक्ष्य राखिएको थियो । सरकारबाट यी दुवै शीर्षकमा एकमुष्ट ४० करोड १० लाख ११ हजार ५५० रुपैयाँ प्राप्त भएको छ । ‘यसकारण गएको वर्ष हामीले चालु र पुँजीगत छुट्याउन सकेनौँ,’ राजस्व विभाग प्रमुख काफ्लेले भने ।

पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख ११ हजार ५ सय (५९.११%), २ करोड ५० लाख रुपैयाँ बेरुजु फर्छ्यौट गर्ने लक्ष्य राखिएकोमा १ करोड ३४ लाख ७८ हजार ९९७ रुपैयाँ (५३.९२%) र अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा ५० लाख ९६ हजार ५ सय रुपैयाँ (१०१.९३%) राजस्व संकलन भएको छ ।

नाता प्रमाणित दस्तुरमा ३५.४८%, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७.८८%, व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३०.७२% लक्ष्य प्राप्त भएको छ । यी शीर्षकमा क्रमशः ५० लाख, २ करोड र ७१ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएकोमा १७ लाख ७४ हजार, ७५ लाख ७६ हजार ४३ र २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ प्राप्त भएको छ ।

बाँडफाँडबाट प्राप्त हुने विज्ञापन करबाट लक्ष्यको ४.९५% अर्थात् ३९ लाख ५७ हजार १८७ रुपैयाँ प्राप्त भएको छ । यस शीर्षकमा गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा एउटै अंक (८ करोड रुपैयाँ) लक्ष्य राखिएको छ ।

यससँगै महानगरपालिकाले पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस, न्यायिक दस्तुर, व्यक्तिगत आन्तरिक अनुदान, बाँडफाँडतर्फ बन रोयल्टी, वित्तीय निकायबाट प्राप्त हुने व्याज, समानीकरण अनुदानलगायत शीर्षकबाट आय प्राप्त गर्छ ।


क्लिकमान्डु