जीवित श्रीमानलाई मरेको भनेर एकल महिला भत्ता लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा



काठमाडौं । जीवित श्रीमानलाई मरेको भनेर एकल महिलाका नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका-३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र सोही वडाकी निर्मला खत्रीविरुद्ध मुद्दा दायर गरेको हो ।

निर्मलाले श्रीमान जीवित हुँदा नै मृत्यु दर्ताको प्रमाणपत्र बनाएर एकल महिला भत्ता बुझेको अख्तियारले जनाएको छ । खत्रीका श्रीमानले नै निर्मलाविरुद्ध उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो ।

छानबिनमा क्रममा महतो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको छ । दुवै मिलेर निर्मलाको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।


क्लिकमान्डु