लोकप्रिय बन्दै क्यूआर भुक्तान, एकै महिनामा १ करोड १८ लाख पटक कारोबार



काठमाडौं । बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगले प्राथमिकता पाउँदै जाँदा क्यूआर कोडमार्फत हुने भुक्तानी लोकप्रिय बन्दै गएको छ । साथमा नगद बोकेर हिँड्नु नपर्ने तथा प्रयोगमा सहज, सरल र सुरक्षित हुने भएपछि क्यूआर भुक्तानी बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार एकै महिनामा क्यूआर कोडबाट १ करोड १८ लाख पटक कारोबार भएको छ । गएको असोजमा १ करोड १८ लाख ८३ हजार १ सयपटक कारोबार भएको हो ।

गत वर्षको असोजको तुलनामा यो वर्षको असोज महिनामा क्यूआर कोडबाट हुने कारोाबर तीन गुणाभन्दा धेरैले बढेको हो । गत वर्षको असोजमा ३५ लाख ६५ हजार ४५५ पटक कारोबार भएको थियो ।

क्यूआरबाट हुने भुक्तानी रकम पनि बढ्दो छ । गत वर्षको असाजेमा क्यूआर कोडबाट १५ अर्ब ७८ करोड २० लाख रुपैयाँ भुक्तानी भएको थियो । चालु आवको असोजमा दोब्बरभन्दा धेरैले बढेर ३६ अर्ब २१ करोड ५० लाख रुपैयाँको भुक्तानी भएको छ ।

राष्ट्र बैंकका अनुसार भदौमा १ करोड १७ लाख ९९ हजार १७५ पटक कारोबार हुँदा ३० अर्ब ५६ करोड ४० लाख रुपैयाँ क्यूआर कोडबाट भुक्तानी भएको छ । भदौको तुलनामा असोजमा क्यूआर कोडबाट हुने भुक्तानी १८.४८ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु