मनकामना केबलकारले दुई वर्षभित्र रिसोर्ट चलाउने, दुई महिनाभित्र केबलकार पूर्ण डिजिटल



काठमाडौं । मनकामना केबलकारले सन् २०२५ सम्ममा मनकामना परिसरभित्रै सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ ।

नेपालकै पहिलो केबलकार, मनकामना केबलकार सेवाको २६औं वार्षिकोत्सवमा अध्यक्ष राजेशबाबु श्रेष्ठले सन् २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिसोर्ट सञ्चालनमा ल्याउने बताए ।

मनकामनामा केबलकार हाताभित्रै सुविधा सम्पन्न रिसोर्टको निर्माणको कार्य भइरहेको उनको भनाइ छ ।

रिसोर्टमा ४० कोठाको सुविधा हुनेछ । रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्टमा करिब ५५ करोड लगानी हुने अनुमान गरिएको उनले बताए ।

रिसोर्ट संचालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्र नयाँ पर्टकीय गन्तव्य बन्ने उनको दाबी छ ।

विसं २०५३ कार्तिक २२ गते स्थापना भएको केबलकार २०५५ मा व्यवसायिक रूपमा सञ्चालनमा आएको थियो ।

एनलग प्रविधिलाई स्तरोन्नती गर्दै केबलकार डिजिटल प्रणालीमा प्रवेश गर्ने चरणमा रहेको छ । अष्ट्रियाको डोपेल्मायर कम्पनीको डी–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने प्रथम चरणको कार्य सन् २०२१ मै सकिएको उनले बताए । बाँकी कामहरु आगामी वर्षको भदौ/असोज महिनासम्ममा सम्पन्न गर्ने कम्पनीको तयारी छ ।

पूर्णरुपमा डिजिटल नबनुन्जेलका लागि केबलकार बन्द हुने श्रेष्ठले जानकारी दिए ।

‘पूर्ण रुपमा डिजिटल प्रणालीमा स्तरोन्नती गर्न अझै २ महिना लाग्नेछ । त्यसबेलासम्मका लागि केबलकार बन्द हुनेछ,’ उनल भने।

अबको चरणमा कन्ट्रोल सिस्टम, कम्यूनिकेशन केबलका साथै केबलकारको लठ्ठा फेरिने उनले बताए । स्तरोन्नति गर्न करिब ४५ करोडको लाग्ने उनले अनुमान गरे ।

केबलकारले हाल वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको जनाएको छ ।

अध्यक्ष श्रेष्ठले मनकामना आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्गलाई सहयोग गर्दै आएको बताए । विनाशकारी गोरखा भूकम्पपछि पश्चिम गोरखाका ७–८ स्थानीय निकायलाई कम्पनीले राहत उपलब्ध गराएको थियो ।

सीएसआर नीतिअनुसार कम्पनीले केवलकार टिकट आम्दानीको कुल रकमको १/१ प्रतिशतका दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई वर्षेनी सहयोग गर्दै आएको उनले बताए ।

अध्यक्ष श्रेष्ठले एक वर्षमा २ करोड हाराहारी आयकर तिर्दै आएको बताए । केबलकारबाट गत आर्थिक वर्षसम्ममा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ राजस्वमा योगदान गरेको छ ।

पर्यटनतर्फ सबैभन्दा बढी कर तिरेवापत आन्तरिक राजस्व विभागले मनकामना केबलकारलाई बिहीबार सम्मानित गरेको थियो।


क्लिकमान्डु