मोबाइल बैंकिङबाट एकै महिनामा २ खर्ब ७७ अर्ब भुक्तानी
काठमाडौं । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजमा ३ अर्ब २७ करोड ७२ लाख ८३९ पटक कारोबार हुँदा २ खर्ब ७७ लाख ८२ हजार रुपैयाँभन्दा बढी भुक्तानी भएको हो ।
गएको भदौमा भन्दा असोजमा ट्रान्जेक्सन घटेको छ भने भुक्तानी भएको रकम बढेको छ । भदौमा ३ करोड ४४ लाख ९३ हजार २५२ पटकको कारोबारमा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँभन्दा बढी भुक्तानी भएको थियो ।
गत आवको असोजमा भएको भुक्तानीभन्दा अहिलेको भुक्तानी निकै ठूलो छ । गत आवको असोजमा २ करोड ९ लाख ९ हजार ३६१ पटकको कारोबारमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको थियो ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा पनि उच्च वृद्धि भएको छ । गत आवको असोज मसान्तसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ९१ लाख २ हजार ६५२ रहेकोमा चालु आवको असोजसम्ममा २ करोड २२ लाख ८४ हजार ६२२ पुगेको छ ।
मोबाइल बैंकिङबाट हुने कारोबार रकमसँगै प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । एक महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता ३ लाखभन्दा धेरैले बढेका छन् । भदौमा २ करोड १९ लाख ५७ हजार ६९२ मोबाइल बैंकिङ प्रयोगकर्ता थिए ।
नेपालमा स्मार्ट फोन प्रयोगकर्ताको संख्या बढ्दै जाँदा मोबाइल बैंकिङको प्रयोग पनि बढ्दै गएको छ । मोबाइल बैंकिङबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ ।