म अहिले ‘हाउस एरेस्ट’मा छु तर फरक पर्दैन: प्रसाईं



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूलाई ‘हाउस एरेस्ट’ ले केही फरक नपार्ने बताएका छन् ।

शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले अहिले प्रहरीले आफूलाई घरबाट बाहिर जान नदिएको भन्दै यसले केही फरक नपर्ने बताएका हुन् । माओवादी युद्धका क्रममा आफू ६ महिना सैनिक हिरासतमा बसेर आएको भन्दै उनले प्रहरीको हिरासत सामान्य भएको बताए ।

प्रचण्डलाई सत्तामा पुर्‍याउने मध्येको एक जना आफू पनि भएको उनले बताए ।

‘मलाई पक्राउ गर्छन् भने मलाई केही आपत्ति छैन । सक्नु हुन्छ भने लानुस् तपाईंहरुको हिरासतमा केही फरक पर्दैन । हाउस एरेस्टले केही फरक पर्दैन,’ प्रसाईंले भने, ‘ प्रचण्डलाई जंगलबाट सत्तामा पुर्‍याउने एउटा भर्‍याङ दुर्गा प्रसाईं पनि हो ।’

आफू भुइँमान्छेहरुका लागि लड्ने मानिसहरुका लागि अभियानमा रहेको उनले बताए । न्याय माग्दै आएका १ सय भन्दा बढी मिलालाई आफूले खाना खुवाएर घरमै राखेको उनले बताए । ‘यसो गर्दा मलाई थुन्छ भने मलाई भन्नु केही छैन’ उनले भने।

काठमाडौं केन्द्रित प्रदर्शनका लागि आएकाहरुलाई प्रहरीले पार्टी प्यालेसबाट खेदिरहेको आरोप प्रसाईंको छ ।

‘पार्टी प्यालेसमा बसेकाहरुलाई प्रहरीले खेदर पूर्वतिर पठाउँदै छ,’ उनले भने, ‘जहाँ पठाउँछ त्यहाँ बन्द गराउने अभियानमा लाग्नुस् नभए तपाईंहरु मुक्त हुनुहुन्न ।’


क्लिकमान्डु