प्रहरीमाथि ढुंगामुढा गर्ने प्रसाईंका ५ समर्थक पक्राउ, अरुलाई खोज्दै प्रहरी
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्ष नेतृत्वको अभियानले बिहीबार आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ ।
बिहीबार प्रसाईंको नेतृत्वमा बिहीबार बल्खुमा प्रदर्शन भएको थियो । त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रदर्शन हिंसात्मक हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई हटाएको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काउनले लगायतको गतिविधि गरेर अराजकता फैलाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तो कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि प्रहरीले खोजि गरिरहेको जनाएको छ । बिहीबार बल्खुमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए ।
प्रसाईं पक्षले भने बल्खुको कार्यक्रममा प्रहरीले दमन गरेको आरोप लगाएको छ ।
प्रसाईंपक्षले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएको छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको र प्रदर्शन गरे कारबाही गर्ने बताएको छ ।