प्रसाईं भन्छन्- आजबाट तीनकुनेमा प्रदर्शन, प्रशासनको जवाफ: अनुमति छैन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई बल्खुको सट्टा तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको बताएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले विज्ञप्ति जारी गर्दै प्रसाईंको समूहले कुनै समन्वयन नगरी तीनकुनेमा कार्यक्रम घोषणा गरेको बताएका छन् ।
बिहीबार बल्खुको कार्यक्रमपछि प्रसाईंले आयोजना गरेको पत्रकारसम्मेलनमा निषेधित क्षेत्र तोड्ने गरी शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
तर, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा र अमनचयन विथोल्ने मनसायले प्रसाईंले कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भएमात्रै उपयुक्त स्थान उपल्बध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रसाईं नेतृत्वको अभियानले बिहीबारबाट काठमाडौं केन्द्रीत तीन दिने प्रदर्शनको घोषणा गरेको थियो ।