चार महिनामा भित्रिए करिब ६ अर्बका २७ सय ८७ वटा विद्युतीय गाडी



काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा २७ सय ८७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको चार महिनाको अवधिमा ६ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँको २७ सय ८७ वटा विद्युतीय गाडी आयात भएको देखाउँछ ।

नेपालले आयातित वस्तुबाट २ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले विद्युतीय सवारी साधन प्रयोग बढाउनका लागि प्रोत्साहन गर्ने नीति अबलम्बन गरेसँगै आयात बढेको छ । नेपालले चार महिनाको अवधिमा उक्त संख्यामा विद्युतीय गाडी आयात भएको हालसम्मकै उच्च तथ्याङ्क हो ।

नेपालले कात्तिकसम्ममा २ अर्ब ३९ करोड ४२ लाख रुपैयाँको १२ सय ७९ वटा ५० किलोवाटसम्मको गाडी आयात गरेको छ । त्यसैगरी, सोही अवधिमा नेपालले ४ अर्ब ३० करोड ३२ लाख रुपैयाँको १४ सय ८१ वटा ५० किलोवाटदेखि १०० किलोवाटसम्मको गाडी आयात गरेको छ ।

साथै, नेपालले १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ६ करोड ६५ लाख रुपैयाँको १७ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको ६ करोड ८७ लाख रुपैयाँको १० वटा विद्युतीय गाडी आयात गरेको छ ।


क्लिकमान्डु