श्रीमती र १० वर्षीय छोरालाई मारेपछि छिमेकीलाई ६ वर्षीया छोरी जिम्मा लगाएर झुन्डिए टिकाराम
धनकुटा । धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेमा एकै परिवारका तीन जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष बिहीबार बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
ज्याला मजदुरी गर्दै आएका टिकारामको परिवारमा चार जना थिए । ६ वर्षीय छोरी आशिका बाहेक सबै जना मृत भेटिएका हुन्।
छोरी आशिकालाई उदृत गर्दै प्रहरीले जनाए अनुसार टिकारामले सुरुमा श्रीमतीको घाँटी थिचेर हत्या गरेका थिए । आमाको हत्या गरिरहदा प्रतिकार गरेका १० वर्षीया छोरा आयुषलाई पनि उनले कुटपिट गरि हत्या गरेका थिए ।
राति पौने १ बजे छोरीलाई सोही घरमा बस्ने लक्ष्मीदेवी श्रेष्ठको कोठामा पुर्याएर गुरुङ कोठामा गएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
झारफुक गर्ने पेसासमेत टिकारामले गर्ने भएकाले सोही कामले बाहिर गएका ठानेर लक्ष्मीदेवीले आशिकालाई लिएर सुतेकी थिइन् ।
बिहीबार बिहान आशिका चप्पल लिन घरभित्र जाँदा आमा, दाजु भुईंमा लडेको र बाबु झुन्डिएको अवस्थामा देखेपछि छिमेकीलाई भनेकी थिइन् । त्यसपछि मात्र घटनाबारे थाहा भएको थियो ।
राति आमा र दाईमाथि बुवाले आक्रमण गरेको देखे पनि डराएका कारणा बालिकाले अरुलाई नभनेको हुनसक्ने प्रहरीले जनाएको छ ।