तीनकुने र बल्खुमा जामरको प्रयोग, फोन लाग्न समस्या



काठमाडौं । आज काठमाडौं उपत्यकामा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले प्रदर्शनको आयोजना गरेका छन् ।

युवा संघले काठमाडौंको तीनकुने र प्रसाईं नेतृत्वको अभियानले बल्खुमा प्रदर्शन गरिरहेका छन् । ति क्षेत्रमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुन उपत्यकाका विभिन्न स्थानबाट र्‍यालीहरु निस्किएका छन् ।

मध्याह्न १२ बजेतिर बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडपको स्थिति समेत बनेको थियो । तर अहिले अवस्था सामान्य बनेको छ ।

मुख्य दुई प्रदर्शनी क्षेत्र तीनकुने र बल्खुमा सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको छ । ति क्षेत्रमा सुरक्षा निकायले मोबाइल नेटवर्कलाई कमजोर बनाउनका लागि जामरको प्रयोग गरेको छ । जसका कारण ति क्षेत्रमा सहज फोन सम्पर्क हुन सकिरहेको छैन ।

जामरको फाइल तस्बिर

बिरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ । बिरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए । उपत्यकाको सुरक्षाका लागि करिब १० हजार प्रहरी सुरक्षाका लागि तैनाथ हुनेछन् ।

तीन जिल्लाका सुरक्षा निकायलाई परिचालन गर्ने र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरक्षाकर्मी तैनाथ राख्ने जनाएको छ ।

सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा कमान्ड विशेष सेल गठन गरेको छ । जसमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक तथा नेपाली सेनाका अधिकारीको समेत सहभागिता रहने छ । प्रदर्शन स्थलको सुरक्षा व्यवस्थापनको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखबाट हुने छ।

प्रदर्शनको सुरक्षालाई थप बलियो बनाउन प्रहरीले प्रदर्शन हुने आसपासका सिसी क्यामरा र ड्रोनबाट समेत निगरानी प्रहरीले गरिरहेको छ । विशेष सूचना सङ्कलनका प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयमातहतका अन्य निकायबाट गरी पाँच सयभन्दा बढी सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ ।


क्लिकमान्डु