एयर इण्डियाको विमानमा बम पड्काउने खालिस्तानीको धम्कीपछि त्रिभुवन विमानस्थलको सुरक्षामा कडाइ
काठमाडौं । भारतीय वायुसेवा कम्पनी एयर इण्डियाको विमानमा बम पड्काउने खालिस्तानीको धम्कीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
भारतको पञ्जाब प्रान्तलाई छुट्याएर छुट्टै खालिस्तान राष्ट्र बन्नु पर्ने माग गर्दै आएको खालिस्तानसँग सम्बन्धित अधिकारीहरुले क्यानण्डाबाट एयर इण्डियाको विमानमा बम पड्काउने धम्की दिएका थिए ।
नेपालमा एयर इण्डियाले दैनिक ५ वटा उडान गर्ने भएकाले सुरक्षा जोखिम नहोस् भनेर सर्तकता बढाइएको विमानस्थल कार्यालयका अधिकारीले जानकारी दिए ।
विमानस्थल कार्यालयका एक अधिकारीकाअनुसार खालिस्तानीको धम्कीलाई मध्यनजर गर्दै एयर इण्डियाको विमान उडान र अवतरण हुँदा सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ ।
विमानस्थल कार्यालयले एयर इण्डियाको उडान हुने समयमा विमानस्थल प्रवेश पास दिन कडाइ गर्नुको साथै विमान पार्किङ गरिएको क्षेत्रमा जान कसिलो व्यवस्था बनाएको हो ।
‘सामाजिक सञ्जालमा एयर इन्डियाको विमानमा आक्रमण गर्ने हल्ला चलेको हामीले पनि सुनेका छौं,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘विमानस्थल जहिले संवेदनशील क्षेत्र हुन्छ । खालिस्तानीको हल्लापछि थप सुरक्षा बलियो बनाइएको छ ।’
२४ वर्ष अगाडि काठमाडौंबाट दिल्ली उडेको विमानस्थल अपहरणमा परेको थियो । काठमाडौंबाट दिल्लीका लागि उडेको एयर इण्डियाको आइसी ८१४ नम्बरको विमान अपहरण गर्दै अफगानिस्तानको कान्धार पुर्याइएको थियो ।
पाकिस्तानी आतंकवादी समूह हरकत उल मुजाहिदिनका ५ जनाले विमान काठमाडौंबाट दिल्ली उडेको विमान अपहरण गरेका थिए ।
काठमाडौं विमानस्थलको कमजोर सुरक्षा व्यवस्था छल्दै हतियारसहित आतंककारीहरु विमानमा प्रवेश गरेका थिए।
उक्त घटनापछि भारतीय वायू सेवा कम्पनीले विमानमा चढ्नुभन्दा अगाडि आफैं सुरक्षा जाँच गर्न थालेका थिए ।
एक पटक काठमाडौंबाट एयर इण्डियाको विमान अपहरणमा परिसकेकाले फेरि पनि कुनै त्रुटी नहोस् भनेर सुरक्षा सर्तकता बढाइएको विमानस्थल कार्यालयका अधिकारीहरु बताउँछन् ।
गत जुनमा खालिस्तानी नेता हरदीप सिंह निज्जरको क्यानडामा भएको हत्यामा भारत सरकार संलग्न रहेको भन्दै खालिस्तानी नेताहरुले एयर इण्डियाको विमानमा बम पड्काउने धम्की दिएको टाइम्स अफ इण्डियामा उल्लेख छ।
खालिस्तानी अधिकारीले भिडियो सार्वजनिक गर्दै धम्की दिएपछि क्यानडाको संघीय प्रहरीले अनुसन्धान सुरु गरेको टाइम्स अफ इण्डियाको समाचारमा उल्लेख छ ।
क्यानण्डाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानण्डाको संसदमा निज्जरको हत्यामा भारत सरकारको संलग्नता पुष्टि गर्न सक्ने प्रमाण फेला परेको अभिव्यक्ति दिएपछि खालिस्तानी अधिकारीहरुले भारत सरकारसँग निज्जरको हत्याको बदला लिने चेतावनी दिएका थिए ।
प्रधानमन्त्री ट्रुडोको अभिव्यक्तिपछि भारत र क्यानण्डाको सम्बन्ध समेत बिग्रिएको छ ।