अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, नेपाली रुपैयाँ सस्तो हुँदा के फरक पर्छ ?
काठमाडौं । अमेरिकी डलरको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ६८ पैसा पुगेको छ । मंगलबारभन्दा डलरको मूल्य ०.०३ पैसा बढेको हो । मंगलबार डलरको बिक्री दर १३३ रुपैयाँ ६५ पैसा थियो ।
भदौ १ पछि ६ गतेसम्म लगातार डलर १३३ रुपैयाँमाथि रह्यो । भदौ ७ गते भदौ १९ सम्म १३३ रुपैयाँभन्दा तल रहेको डलरको मूल्य भदौ २० गते १३३ रुपैयाँ १७ पैसा पुगेको थियो । कात्तिक २५, २६ र २७ गते पनि १३३ रुपैयाँ ६५ पैसा कायम भएको डलर आज (बुधबार) हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
भारतीय रुपैयाँ कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ सस्तिएको हो । सोमबार अन्तर बैंक फरेन एन्सचेन्ज मार्केटमा भारतीय रुपैयाँ ८३.२५ रुपैयाँ प्रतिडलरले कारोबार भयो भने ८३.३५ रुपैयाँ प्रतिडलरमा बन्द भयो । विदेशी पैसा भारतबाट बाहिर गएका कारण रुपैयाँ डलरको तुलनामा कमजोर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिले भारतीय केन्द्रीय बैंक मूल्यवृद्धि बढ्ने प्रक्षेपण गरिरहेको छ । भारतमा आयात पनि बढेको छ । आयात बढ्दा विदेशी मुद्राको सञ्चिति घट्छ । परिणामतः डलरको माग बढेर भारु कमजोर भएको हो । नेपाली र भारतीय मुद्राबीच स्थिर विनियम दर भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ ।
डलरको मूल्य बढ्दा सामान आयात गर्न महँगो पर्ने हुन्छ । निर्यात उच्च दरमा बढाउन सक्ने हो भने डलरको मूल्य बढ्दा फाइदा हुन्छ । तर, उत्पादन बढ्न नसक्दा आयातमा चाप बढ्दो छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात भएको छ भने १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । त्यस्तै चालु आवको साउनदेखि असोजसम्ममा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ भने ४० अर्ब ८७ करोड रुपैयाँको मात्र निर्यात भएको छ । निर्यात कमजोर भएका कारण डलरको मूल्य बढ्दा नेपाललाई बढी नोक्सानी हुन्छ ।
नेपाली अधिकांश उद्योग पनि विदेशी कच्चापदार्थमा आधारित छन् । विदेशबाटै कच्चा पदार्थ ल्याएर सामान उत्पादन गर्नुपर्दा उत्पादित सामानको मूल्य बढी पर्छ । त्यसको भार उपभोक्तामा पर्नेछ ।