पर्यटनमन्त्रीसँग हानका अध्यक्षको गुनासो- ठूला होटल धेरै खुले, हामी घाटामा गयौं



काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले धेरै ठूला होटल संरचना सञ्चालनमा आउने क्रम बढ्दा एक तिहाई अकुपेन्सीमा सञ्चालन गर्नुपरेको बताएका छन् ।

‘मुलुकमा पर्यटन आगमन वृद्धि भए पनि धेरै ठूला होटल संरचना सञ्चालनमा आउने क्रम बढेकाले क्षमताको एक तिहाई अकुपेन्सीमा होटलहरु सञ्चालन गर्नुपर्दा घाटा भइरहेको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँगको मंगलबारको भेटमा अध्यक्ष शाहले भने ।

विदेशी पर्यटक नेपाल भ्रमणका लागि लालायित भएको र सोधपुछ बढ्दै गएको भए पनि पर्यटन पूर्वाधारमा रहेको कठिनाईका कारण नेपाल आउने पर्यटक अन्यत्रै जाने गरेको उनले बताए ।

क्षेत्रीय विमानस्थलहरु पोखरा र भैरहवालाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सके मुलुकले पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने हुँदा यसतर्फ ध्यान दिन उनले मन्त्री किराँतीको ध्यानाकर्षण गराए । विकसित छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि मुलुकमा पर्यटन आगमनको चाप बढ्ने शाहको भनाइ छ ।

मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानीमैत्री तथा पर्यटनमैत्री बनाउन आग्रह गर्दै उनले संशोधन हुन लागेको संघीय पर्यटन ऐनले यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री किराँतीले पर्यटक आगमन सन्तोषजनक भएको र आउँदा दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह भएकाले मुलुकलाई समृद्ध बनाउन पर्यटनलाई चलायमान बनाई पूर्वाधारहरु समयमै सम्पन्न गरी हवाई सञ्जालसमेत विस्तार गरिने र यसबारेमा सम्बन्धित निकायमा पहलकदमी भइरहेको बताए ।

भेटमा होटल संघ नेपालका निवर्तमान अध्यक्ष सृजना राणा, वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डे, उपाध्यक्ष दिनेश तुलाधर र महासचिव राजन शाक्यले आ-आफ्ना धारणा राखेका थिए ।


क्लिकमान्डु