अर्थतन्त्र सुधारको विषयमा मंगलबार प्रधानमन्त्रीले निजी क्षेत्रसँग छलफल गर्ने*



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको विषयमा मंगलबार निजी क्षेत्रसँग छलफल गर्ने भएका छन् ।

पाँच मन्त्रीसहित योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव र राष्ट्र बैंकका गभर्नरसँग सोमबार छलफल गरेका प्रधानमन्त्रीले मंगलबार (भोलि) दिउँसो २ बजे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिका साथै निर्माण व्यवसायी र उद्योगीसँग छलफल गर्नेछन् ।

अर्थतन्त्रको बाह्य क्षेत्र सुधार हुँदासमेत आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणका विषयमा प्रधानमन्त्रीले निजी क्षेत्रको धारणा सुन्न चाहेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार ब्याजदर घट्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको, रेमिट्यान्स आप्रवाह बढेको, पयर्टन क्षेत्र चलायमान भएको लगायतका विषयमा प्रधानमन्त्रीलाई बिफ्रिङ गरेका थिए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार प्रधानमन्त्री दाहालले उद्योगी व्यवसायीले अर्थतन्त्र सुधार नभएको विषयमा गुनासो गर्नुको कारण जान्न खोजेका थिए । बाह्य क्षेत्रमा भएको सुधारले आगामी दिनमा आन्तरिक अर्थतन्त्र पनि चलायमान बन्दै जाने मन्त्री महतले बताएका थिए ।

सच्याइएको*


क्लिकमान्डु