टाइगर ब्रुअरीले ११ महिनामा बेच्यो साढे ६१ करोडको मदिरा



काठमाडौं । आन्तरिक बियर कम्पनी टाइगर ब्रुअरी इन्डष्ट्रिज प्रालिले ११ महिनाको अवधिमा ६१ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को कारोबार गरेको छ ।

कम्पनीले सन् २०२२ मा ७३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२१ मा ९६ करोड रुपैयाँ, सन् २०२० मा ६५ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब १५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । वार्षिक ४० लाख लिटर उत्पादन क्षमता भएको कम्पनीले विभिन्न ७ वटा ब्राण्डमा मदिरा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले टेन्सवर्ग, नेपाल टाइगर स्ट्रङ र रकस्टारसहित अन्य ब्राण्डमा मदिरा बिक्री वितरण गर्दै आएको छ । देशभर १५० भन्दा बढी वितरण रहेको कम्पनीमा इश्वरी खड्काको ४७ प्रतिशत, प्रेम खड्काको २९ प्रतिशत र लक्ष्मण खड्काको २४ प्रतिशत हिस्सा छ ।

कम्पनीले व्यापार गरेकोमध्ये नेपाल टाइगर र रकस्टारबाट मात्रै ७० प्रतिशत हिस्सा छ । सन् २०२२ मा ६७ प्रतिशत थियो । कम्पनीअनुसार कोभिड अगाडिको तुलनामा पछिल्ला वर्षहरुमा व्यापार कम हुँदै गएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु