अझै ११ बैंकले लाभांश घोषणा गर्न बाँकी, दुई बैंकको १० प्रतिशतभन्दा बढी, दुई वटाको ऋणात्मक
काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म ८ वटा बैंकले लाभांश घोषणा गरेका छन् । बाँकी बैंक लाभांश घोषणा गर्ने तयारीमा छन् ।
लाभांश घोषणा गरेका केही बैंकले भने वार्षिक साधारणभास नै गरिसकेका छन् । केही बैंकले सभा बोलाएका छन् भने कतिपय बैंकले सभा बोलाउन बाँकी छ ।
अहिलेसम्म माछापुच्छ्रे, एभरेष्ट, एनआईसी एशिया, सानिमा, सिटिजन्स, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेका छन् ।
सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश सेयरधनीलाई दिइसकेको छ । असोज २८ गते बसेको बैंकको वार्षिक साधारणसभाले बैंकले घोषणा गरेको लाभांश पारित गरेको छ ।
यस्तै माछापुच्छ्रे बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश दिएको छ । जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश छ । असोज १८ गते बसेको बैंकको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको छ ।
सिटिजन्स बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको असोज २६ गतेको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको छ ।
अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमा सेयरधनीलाई उच्च लाभांश दिने दोस्रोमा एभरेष्ट बैंक रहेको छ । बैंकले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १० र करसहित १०.५३ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको सम्पन्न साधारणसभाले उक्त लाभांश पारित गरेको छ ।
यस्तै सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले बोनस ९ प्रतिशत र करसहित ५.७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । कात्तिक २ गते बसेको बैंकको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको छ ।
सिद्धार्थ बैंकले गत आवको नाफाबाट ४.२१ नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले मंसिर ५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० सम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले बुक क्लोजको मिति र आगामी साधारणसभा भने तय गरेको छैन ।
ग्लोबल आइएमई बैंकले गत आवको नाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १ प्रतिशत र कर सहित ८ प्रतिशत नगद रहेको छ । बैंकले मंसिर २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि भन्दै मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १२ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउन सक्नेछन् ।
अझै ११ वटा बैंकले लाभांश घोषणा गर्न बाँकी छ । गत आवको नाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, लक्ष्मी सनराइज, प्रभु, नेपाल, कुमारी, कृषि विकास, प्राइम, हिमालयन र नेपाल एसबिआई बैंक रहेका छन् ।
अहिलेसम्म लाभांश घोषणा नगरेको भए पनि गत आवको नाफाबाट नविल बैंकको लाभांश दिने क्षमता १४.६४ प्रतिशत छ । कृषि विकास बैंकको १०.०६ प्रतिशत लाभांश दिने क्षमता छ भने लक्ष्मी सनराइज बैंकले ८.९४ प्रतिशत, एनएमबि बैंकले ८.१८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
त्यस्तै, नेपाल बैंकले ६.६२ प्रतिशत, प्राइम बैंकले १ प्रतिशत, प्रभु बैंकले ०.६४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.४६ प्रतिशत, नेपाल एसबिआई बैकले १३.९३ प्रतिशत लाभांश दिने क्षमता राख्छन् । हिमालयन र कुमारी बैंकको लाभांश दिने क्षमता ऋणात्मक छ ।