पर्यटन क्षेत्रबाट पोहरभन्दा ३४ प्रतिशत बढी मूल्य अभिवृद्धि कर उठ्यो



काठमाडौं । कोरोना महामारीको प्रभाव हटेसँगै नेपालमा पर्यटकीय गतिविधि बढ्न थालेको छ ।

पर्यटक आवागमनमा भएको वृद्धिको प्रभाव पर्यटन क्षेत्रबाट संकलन हुने मूल्य अभिवृद्धि करमा समेत देखिएको छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबर महिनामा १ लाख १७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार अक्टोबरमा कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को तुलनामा ६ प्रतिशत बढी पर्यटक यो वर्ष आएका छन् ।

पर्यटक आवागनमा भएको वृद्धि होटल, रेष्टुरेन्टको कारोबारमा वृद्धि हुँदा पर्यटन क्षेत्रमा संकलन हुने राजस्व बढेको विभागले जनाएको छ।

आन्तरिक राजस्व विभागले गत वर्षको कात्तिकको तुलनामा चालु आर्थिक वर्षको कात्तिकमा पर्यटन क्षेत्रबाट ३४ प्रतिशत बढी मूल्य अभिवृद्धि कर संकलन गरेको छ ।

गत वर्ष विभागले पर्यटन सेवा शीर्षकमा १४ करोड ८ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा विभागले पर्यटन सेवा बापत १८ करोड ९८ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर संकलन गरेको छ ।

पर्यटन क्षेत्रबाट संकलन हुने मूल्य अभिवृद्धि कर वृद्धि हुँदा उत्पादनबाट संकलन हुने मूल्य अभिवृद्धि कर भने गत वर्षको कात्तिकभन्दा घटेको छ ।

गत वर्ष कात्तिकमा विभागले उत्पादनबाट २ अर्ब ७९ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर संकलन गरेकोमा चालु आर्थिक वर्षको कात्तिकमा २६ अर्ब ८५ करोड रुपैयाँ मात्रै संकलन गरेको छ ।

दसैं तिहार जस्ता पर्वले १४ दिन सार्वजनिक बिदा हुँदा औद्योगिक उत्पादनमा घट्दा मूल्य अभिवृद्धि कर घटेको विभागका अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु