कात्तिकमा उठ्यो लक्ष्यको ५३ प्रतिशत राजस्व, चोरी तस्करी नियन्त्रणमा प्रहरीले सहयोग नगरेको आरोप



काठमाडौं । भन्सार विभागले कात्तिक महिनामा लक्ष्यको ५३.३४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । १४ दिन सार्वजनिक बिदा भएकाले लक्ष्यभन्दा कम राजस्व संकलन भएको विभागका अधिकारीहरु बताउँछन् ।

कात्तिक महिनामा दसैं र तिहार पर्छ भन्ने थाहा हुँदा हुँदै हचुवाका आधारमा लक्ष्य निर्धारण भएकाले विभागले लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको विभागका एक उपसचिव बताउँछन् ।

कात्तिक महिनामा भन्सार विभागले ५२ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा २७ अर्ब ५६ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको हो ।

विभागले कात्तिकमा २५ अर्ब ९१ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखेकोमा १२ अर्ब ३८ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जुन लक्ष्यको ४८.३ प्रतिशत हो ।

विभागले कात्तिकमा १९ अर्ब ८० करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य राखेकोमा १२ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । यस्तै, ५ अर्ब २ करोड रुपैयाँ अन्त:शुल्क उठाउने लक्ष्य राखेको विभागले २ अर्ब २१ करोड रुपैयाँ, १ अर्ब ५ करोड रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर उठाउने लक्ष्य राखेको विभागले ४१ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको हो ।

कात्तिक महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट हुँदा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

कात्तिक महिनामा मात्रै लक्ष्यको ५३ प्रतिशत राजस्व उठाउने विभागले कात्तिक महिनासम्ममा लक्ष्याको ६९.२४ प्रतिशत राजस्व संकलन गरेको छ ।

कात्तिकसम्ममा १ खर्ब ९७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको विभागले १ खर्ब ३६ अर्ब रुपैयाँ राजस्व उठाउन सकेको हो।

गत वर्षको तुलनामा आयात वृद्धी नभएकाले राजस्व संकलन बढ्न नसकेको भन्सार विभागका अधिकारीहरु दाबी गर्छन् ।
चोरीतस्करी नियन्त्रणमा गृह प्रशासनले सहयोग नगरेकाले भन्सारको प्रयासले मात्रै राजस्व संकलन बढ्न नसकेको भन्सार विभागका एक सहसचिव बताउँछन् ।

‘खुला सीमाका कारण बढीरहेको चोरी तस्करी नियन्त्रणमा प्रहरी प्रशासनले सहयोग गरेको छैन्,’भन्सार विभागका एक अधिकारीले भने,‘हामीले भन्सार विन्दुमा मूल्यांकनमा कडाई गर्दा समेत चोरी तस्कारी बढेको रिपोर्ट आएका छन् । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी र स्थानीय प्रशासन चोरी तस्कारी नियन्त्रण जिम्मेवार नहुँदा राजस्वमा नकारात्मक असर परेको हो ।’


क्लिकमान्डु