यी ३ वाणिज्य बैंक, जसले दिन्छन् सबैभन्दा बढी ब्याज
काठमाडौं । मंसिरमा सबैभन्दा बढी ब्याजदर माछापुच्छ्रे, हिमालयन र नेपाल एसबीआई बैंकले दिने भएका छन् । व्यक्तिगत मुद्दति निक्षेपमा यी ३ बैंकले सबैभन्दा बढी र समान १०.६०३ प्रतिशत ब्याज दिने भएका छन् ।
व्यक्तिगत मुद्दति निक्षेपतर्फ एसबीआई बैंकले कात्तिकको तुलनामा ०.०९७ प्रतिशत विन्दु र हिमालयन बैंकले ०.४ प्रतिशत विन्दुले ब्याजदर घटाए पनि अन्य सबै बैंकको भन्दा उच्च छ ।
माछापुच्छ्रेले भने ०.६१३ प्रतिशत विन्दुले ब्याज बढाएर ९.९९ प्रतिशतबाट १०.६०३ प्रतिशत पुर्याएको हो ।
मंसिरका लागि वाणिज्य बैंकको औसत ब्याजदर ३ प्रतिशतभन्दा धेरैले घटेको छ । वाणिज्य बैंकहरुले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत निक्षेपतर्फको ब्याजदर औसतमा ३.३१ प्रतिशतभन्दा धेरैले घटाएका हुन् ।
कात्तिकमा व्यक्तिगत निक्षेपतर्फ औसत ९.९६ प्रतिशत रहेको वाणिज्य बैंकहरुको ब्याजदर मंसिरमा ९.६३ प्रतिशतमा झरेको छ ।
व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले बढाएको छ भने ६ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् ।
मंसिरमा माछापुच्छ्रे बैंकले मात्रै ब्याजदर बढाएको छ । मंसिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन् । अरु १३ बैंकले ब्याज घटाएका छन् । सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबि बैंकले घटाएका छन् ।