एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान
काठमाडौं । मारवाडी सेवा समिति नेपालले एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।
समितिले १९औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ विश्वकीर्तिमान कायम गरेका दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई जनही एक लाख एक हजार नगदसहित सम्मान गरेको छ ।
त्यस्तै कराँतेतर्फ नेपाललाई रजत पदक दिलाउन सफल एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान गरिएको समितिले जनाएको छ ।
कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई सम्मान पत्र र टोकन अफ लभ प्रदान गरिएको छ ।
सोही अवसरमा मारवाडी समाजका सदस्यहरु एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाल र पूर्वक्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको छ ।
समितिले जाजरकोट भूकम्पप्रभावितलाई सहयोग पनि गरेको छ । समितिले फाइबरको सिरक ८३५ थान र पि. फम मेट ९०० थान तथा दाल १ किलो र नुन १ किलो राखेर प्याक गरिएका ४०० वटा प्याकेट चामल हस्तान्तरण गरेको हो ।