८७ वर्षअघि ८ लाख रुपैयाँमा सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी कति पुग्यो ?
काठमाडौं । वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आफ्नो स्थापनाको ८६ वर्ष पूरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ ।
नेपालमा बैंकिङ प्रणालीको शुरुवात र विकासको हिसाबले आजको बैंकिङ क्षेत्रमा आएको क्रान्तिको जग नेपाल बैंक हो ।
भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका स्वर्णीम पानाहरुमा सदा लेखिइरहने नै बैंकले जनाएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरुले सुरु गरेको बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।
८७ वर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब रहेको छ ।
वि.सं. २०८० आषाढ मसान्तसम्म बैकले २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा प्रदान गरेको जनाएको छ ।
प्रत्येक वर्ष संचालन मुनाफामा बढोत्तरी हुँदै गएको यस बैंकको जगेडा कोषमा २१ दशमलव ८८ अर्ब रुपैयाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र नेटवर्थ ३६ दशमलव ५८ अर्ब भन्दा बढी रहेको छ ।
बैंकले विगत आव २०७६/७७ देखि आफ्ना शेयरधनीहरुलाई नियमित रुपमा वोनस शेयर तथा नगद लाभांश प्रदान गर्दै आइरहेको छ । ‘प्रशस्त अचल सम्पत्ति, निक्षेप तथा कर्जा वृद्धि, न्यून आधार दर तथा ब्याजदरका सूचकहरुमा बैंक दरिलो तथा प्रतिस्पर्धी रहेको छ भने संस्थागत सुशासनलाई थप मजबुत बनाएको छ’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्थापनाको शताब्दीको हाराहारी अनुभव बटुलेको ऐतिहासिक बैंकिङ धरोहरले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याउन भूमिका खेलेको थियो ।
नेपाल बैंकले आफ्नो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि. सं २०१२ सम्म देशको केन्द्रीय बैंकको कार्य समेत गरेको थियो ।
नेपाली माटो र हरेक नेपालीजनसँग प्रगाढ सम्बन्ध गाँसिएको यस बैंक बालक, युवा, प्रौढ हुँदै जेष्ठ नागरिक सबैको रोजाइकोमा पर्न सकेको बैंकले जनाएको छ ।
८७ वर्षको सेवा प्रवाहमा नेपाल सरकारको नीति तथा कार्यक्रम हासिल गर्न टेवा दिँदै, औद्योगिकीकरण एवम् समृद्धिको लागि बैंकले अहम् भूमिका खेलेको विज्ञप्तिमा जनाइएको छ ।
बैंकले समयसापेक्ष कर्मचारी क्षमतामा अभिवृद्धि गर्दै उत्कृष्ट प्रविधि मार्फत ग्राहक सेवालाई उच्च प्राथमिकतामा राखेको जनाएको ५ ।
हाल ७१ जिल्लामा शाखा सञ्जाल रहेको बैंकमा करीब ३६०० कर्मचारी रहका छन् । बैंकले २ सय २८ शाखा, ५८ वटा विस्तारित काउण्टर तथा २ सय ४ वटा एटीएम बुथ मार्फत देशैभर कारोबार सञ्चालन तथा सेवा प्रवाह गरिरहेको जनाएको छ ।