तिहारको भाइमसला: कुन मसला खाने, के फाइदा ?
काठमाडौं । तिहारको भाइटीकाका दिन दाजुभाइलाई दिदीबहिनीले उपहारको रुपमा भाइमसला दिने प्रचलन रहेको छ ।
भाइटीका ग्रहण गरिसकेपछि विभिन्न मिष्ठान्न सहित भाइमसला दिने प्रचलन रहेको छ ।
भाइमसलामा विशेषगरि काजु, किसमिस, मदेसी बदाम, पेस्ता, सुपारी, ओखर, कटुस, नरिवल लगायतका मसमसला दिँदै दिदी बहिनीले दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गरेका छन् ।
तिहारको समयमा यस्ता ड्राइफुड्स दिँदा यसले स्वास्थ्यमा फाइदा पुग्छ ।
भाइमसालामा विशेषगरि काजु, ओखर, बदाम, नरिवल, किसमिस हुन्छन् । यी फुड्सलाई पूर्ण खानेकुरा मानिन्छ । यी फुड्समा माइक्रो र म्याक्रो गरि सम्पूर्ण पोषक तत्व पाइन्छन् ।
सबै किसिमका पोषक तत्व जस्तै कार्बाेहाइडेट्स,भिटामिन,चिल्लो पदार्थ,प्रोेटिन, खनिज पाइन्छन् । त्यसैले यी ड्राइ फुड्स स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण लाभदायक छन् ।
काजु, पेस्ता, बदाम, ओखर र किसमिस जे खाए पनि मिलाएर खानुपर्छ । भाइमसलामा आउने सबै चिज राम्रो छ, फलदायी छ भनेर एकैदिन धेरै खानु भने हुँदैन। सुकेको मरमसला भनेको अलिक गहकिलो मसला हो। यसले कसैको पेट खराब पनि हुन सक्छ, बान्ता पनि हुन सक्छ। त्यसकारण ठिक्क खानुपर्छ ।
डाक्टरले चिल्लो खान बर्जित गरेका बिरामी, प्रोटिन नपच्ने बिरामी, मिर्गौलाका बिरामीहरुले मुखको तलतल मेटाउन एक या दुई दाना मात्रै ड्राई फ्रुट्स खाएको राम्रो हुन्छ । यस्ता चिजहरू पाएपछि एकैपटक खानु हुँदैन। त्यसकारण यसलाई बिर्को लाग्ने सिसीमा राखेर सधैँ अड्कल गरेर खान सक्यौं भने राम्रो हुन्छ ।
काजु
काजुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । त्यसैले मधुमेहको समस्या भएका व्यक्तिले काजु एकदमै कम खानुपर्छ । उनीहरुले ओखर र बदाममा बढी जोड दिनुपर्छ ।
मधुमेहको समस्या भएका दाजुभाइका लागि दिदिबहिनीहरुले काजु, पेस्ता, छोकडा, किसमिसभन्दा बदाम र ओखरमा जोड दिँदा राम्रो होला । छोकडा, किसमिसमा चिनीको मात्रा धेरै हुन्छ । पेस्तामा पनि काब्रोहाइड्रेटको मात्रा धेरै हुन्छ । त्यसैले मधुमेहका बिरामीले पेस्ता, काजु, किसमिस, छोकडा नखाएकै राम्रो, खानैपरे एकदमै कम खान म सुझाव दिन्छु ।
बच्चाहरुका लागि भने काजु, बदाम, पेस्ता,छोकडा,किसममिस मिसाएर दिँदा एकदमै राम्रो हुन्छ ।
ओखर
ओखर भाइमसलाको मुख्य चिज हो। यसमा विभिन्न किसिमका भिटामिन मिनरल्स पनि पाइन्छ। ओखरको खानाले व्यक्तिको दिमाग तेज चल्न मद्दत हुन्छ। कब्जियतको समस्यामा यसको प्रभावकारी भूमिका खेल्छ । ओखरमा एन्टिअक्सिडेन्ट हुन्छ । यसमा भएको चिल्लो पनि राम्रो खालको चिल्लो हो । यसले छालासम्बन्धी समस्याबाट छुटकारा पाउन समेत मद्दत पुर्याउँछ ।
किसमिस
अन्य खानेकुरामा जस्तै किसमिसमा पनि विभिन्न किसिमको पौष्टिक तत्व पाइन्छ। यसबाट राम्रो मात्रामा आइरन प्राप्त गर्न सकिन्छ । साथै, यसमा पोटासियम, सोडियम, प्रोटिन, भिटामिन ‘सी’ लगाएतका पौष्टिक तत्व पाइन्छ। यो पनि स्वास्थ्यको लागि निकै राम्रो चिज हो। किसमिसले रक्तअल्पता तथा कब्जियत हटाउन मद्दत पुर्याउँछ।
बदाम
विशेषगरि ड्राइफुड्सलाई विहानको समयमा खाँदा राम्रो मानिन्छ । भाइमसलामध्ये सबैभन्दा पहिला बदामको चर्चा गर्रौ । ब्रेक फास्टमा बदाम खानु फाइदाजनक हुन्छ । बदामलाई भिजाएर खाँदा अझ राम्रो मानिन्छ । नभिजेको बदाम कसिएको हुन्छ भने भिजेको बदाम खुल्छ र यसको बोक्रा पनि सजिलै निकाल्न सकिन्छ ।
बदामको बोक्रा फालेर खाँदा अरु खानेकुरा पचाउन सजिलो हुन्छ । बोक्रामा तन्निन् भन्ने तत्व हुन्छ जसले हामीले खाएको खानेकुरालाई राम्रोसँग पचाउँदैन । त्यसैले सकियो भने रातभर अथवा कमसेकम खानुभन्दा ३/४ घण्टा अगाडि बदामलाई भिजाउँदा बेश हुन्छ । बदाममा चिल्लो पदार्थ त्यसमा पनि ओमेगा ३ पाइन्छ । बदामले स्मरण शक्ति तेज बनाउँछ ।
पेस्ता
पेस्तामा पनि प्रोटिन, भिटामिन र चिल्लो हुन्छ। यो अलिक धेरै खाँदा अपच हुने डर हुन्छ। यसमा पाइने अन्य म्याग्नेसियम, कपर, फस्फोरस र भिटामिन बी जस्ता तत्वले शरीरलाई फाइदा पुर्याउँछ । पेस्ताले मानिसलाई मुटुसँग सम्बन्धित रोगहरुबाट बचाउँछ । साथै, छालाको क्यान्सर जोखिम कम गराउने र सन्तुलित रक्त संचालनमा समेत सहयोग गर्छ ।
छोकडा
छोकडामा आइरन, मिनरल, क्याल्सियम, फस्फोरस लगायतका तत्वहरु पाइन्छ। छोकडाको खानाले पेटसम्बन्धी समस्या कम हुन्छ । साथै, शरीरमा रगतको मात्रा बढाउँछ ।