भाइमसलाको मूल्य स्थिर हुँदा ओखरको घट्यो, कुनको मूल्य कति ?



काठमाडौं । हिन्दू नेपालीहरूको महान् चाड तिहारमा सबैभन्दा बढी व्यापार हुँदै आएको भाइ मसलाको मूल्य यो वर्ष स्थिर रहेको छ । तिहारमा विभिन्न सामग्रीहरुमध्ये उच्च व्यापार हुने गरेको भाइमसलाको गत वर्षकै मूल्यमा बिक्री वितरण भइरहेको व्यवसायीहरुले बताएका छन् ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले यो वर्षमा अधिकांश भाइ मसलाको मूल्य गत वर्षको तुलनामा नबढेको बताए । उनकाअनुसार बजारमा अभाव देखिएको वस्तुको मूल्य बढेको छ भने कतिपय वस्तुको मूल्य घटेको छ ।

तिहार लाग्दै गर्दा खुद्रा तथा होलसेल बजारमा भाइ मसलाको व्यापार सुरु भइसकेको छ । त्यस्तै, यो वर्षको तिहारमा गत वर्षकै मूल्यमा आवश्यक वस्तु खरिद गर्न सकिने उनले बताए । तर, बजारमा छोकडाको अभाव भएकाले मूल्य वृद्धि भएको जानकारी दिए ।

‘बजारमा अहिले छोकडाको अभाव छ । सरकारले आयातमा प्रतिबन्ध गरेर हालै मात्रै पैठरीको खुला गरेको छ,’ उनले भने, ‘तिहारमा बढी खपत हुने छोकडा नपाउँदा प्रतिकेजी नै डेढ सय हाराहारीमा बढेको छ ।’

गत वर्षको तिहारमा छोकडा प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री वितरण भएको थियो । तर, यो वर्ष उक्त छोकडाको मूल्य बढेर ५५० रुपैयाँ पुगेको उनको भनाइ छ । छोकडाको मूल्य उच्च बढ्दा ओखरको मूल्यमा भने कमी आएको उनले बताए ।

त्यस्तै, गत वर्षको तिहारमा ओखर प्रतिकेजी ५५० रुपैयाँदेखि ६ सय रुपैयाँमा बिक्री वितरण भएको थियो । यो वर्ष भने ओखरको मूल्य घटेर प्रतिकेजी ४७० रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।

तिहारमा सबैभन्दा बढी मसलाको रूपमा प्रयोग हुने काजु, आल्मोन्ड, पिस्ता, किसमिस, नरिवल, छोकडा, सुपारी, ओखर, मखना, सुकमेल मिस्री हो । यो वर्ष यीमध्ये धेरैजसो मसालाहरूको मूल्य गत वर्षकै जस्तो छ ।

कुन वस्तुको मूल्य कति ?

संघअनुसार अहिले काजु प्रतिकेजी १५ सय ५० रुपैयाँदेखि १६ सय रुपैयाँमा बिक्री वितरण भइरहेको जनाएको छ । त्यसैगरी, आल्मोन्ड प्रतिकेजी १२ सय ५० रुपैयाँ, पिस्ता २ हजार रुपैयाँदेखि २ हजार ५० रुपैयाँसम्म, किसमिस ५२५ रुपैयाँ, छोकडा ५२५ रुपैयाँ, ल्वाङको २ हजार रुपैयाँ, ओखरको ४७० रुपैयाँ, सुकमेल ३५ सय रुपैयाँ, खुर्पानी ९५० रुपैयाँ, अन्जिर २ हजार रुपैयाँ, नरिवल १४ सय रुपैयाँ र कटिङ मिश्री १८० रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।

वस्तु मूल्य (प्रतिकेजी रुपैयाँ)

एक अर्बको आयात

नेपालले चालु आर्थिक वर्षको तीन महिनाको डेढ अर्बको ड्राइ नट्स आयात गरेको छ । नेपालले चालु आवको तीन महिनाको अवधिमा १ अर्ब १६ करोड १२ लाख रुपैयाँको ८१ लाख १३ हजार केजी ड्राई नट्स आयात गरेको भन्सार विभागको तथ्यांक छ ।

नेपालले गत वर्षको सोही अवधिमा १ अर्ब ५३ करोड २७ लाख रुपैयाँको ९५ लाख ७५ हजार केजी ड्राई नट्स आयात गरेको थियो । नेपालमा वर्षभरी कारोबार हुने ड्राई नट्सको ५० प्रतिशत व्यापार यही तिहारमा हुने गर्छ । सोहीअनुसार बजारमा तयारी हुने गरेको संघले जनाएको छ ।

नेपालले चालु आवको तीन महिनाको सबैभन्दा बढी ओखर आयात गरेको छ । नेपालले तीन महिनामा मात्रै ३७ करोड ६५ लाख रुपैयाँको ११ लाख केजीको ओखर आयात गरेको छ ।

नेपालले १९ करोड करोड रुपैयाँको अल्मोन्ड, १६ करोड ३८ लाख रुपैयाँको नरिवल, १५ करोड २७ लाख रुपैयाँको फ्रेस नरिवल, १३ करोड ९० लाख रुपैयाँको काजु, १२ करोड १८ लाख रुपैयाँको सुपारी, १ करोड ४५ रुपैयाँको अन्जिर र अन्य ड्राई नट्स आयात गरेको छ ।

नेपालमा अधिकांश ड्राइ फ्रुट्स विदेशबाट आयात हुने गर्दछ । त्यस्तै, मखना र ओखर बढी जसो चीनबाट आयात हुने गरेको छ । आल्मन्ड (हाडे बदाम) भारत, अमेरिका र अस्ट्रेलियालगायतका देशबाट आयात हुने गर्दछ ।

त्यसैगरी, अन्य देशहरू अफगानिस्तान, भियतनाम, कतार, थाइल्यान्ड, अमेरिकालगायत अन्य मुलुकबाट विभिन्न प्रकारका ड्राई फ्रुट्स अर्थात् भाइ मसला आयात हुने गर्दछ ।


अरिष्मा मोक्तान