पाँच वर्षमा १ करोड किलो ओखर आयात, बाहिरियो ३ अर्ब १३ करोड रुपैयाँ



काठमाडौं । ‘ब्रेन फुड’ भनेर चिनिने ओखरको खपत नेपालमा ठूलो मात्रमा हुने गरेको छ । वार्षिक औसत २० लाख किलो ओखर नेपालमा आयात हुने गरेको हो ।

मस्तिष्कलाई स्वस्थ्य राख्न र रक्तप्रवाहलाई नियमित गराउन सहयोग गर्ने ओखरको सेवन हिजोआज नियमित गर्ने प्रचलन बढ्दै गएको छ । अधिक मात्रामा पोषक तत्व पाइने ओखर तिहारमा दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा दिने गर्छन् ।

नेपालमा अमेरिका, चीन, भारत, युनाइटेड अरब इमिरेट्स (यूएई) र चिलीबाट ओखर आउने गरेको छ । सबैभन्दा बढी ओखर चीनबाट आउँछ । भन्सार विभागको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा ३ अर्ब १३ करोड रुपैयाँको ओखर नेपाल भित्रिएको छ ।

नेपालमा आर्थिक वर्ष २०७५/७६ मा २१ करोड ७८ लाख ७० हजार रुपैयाँबराबरको ७ लाख ७९ हजार ४६२ किलो ओखर आयात भएको छ । त्यस्तै आव २०७६/७७ मा ७७ करोड ४४ लाख ८३ हजार रुपैयाँबराबरको २४ लाख ५३ हजार ४०९ किलो आयात भएको छ ।

अर्को वर्ष भने नेपालमा उच्च परिमाणमा ओखर भित्रियो । आव २०७७/७८ मा १ अर्ब ५ करोड ९७ लाख ३ हजार रुपैयाँबराबरको ३४ लाख ७९ हजार ८३७ किलो ओखर आयात भएको हो ।

त्यस्तै आव २०७८/७९ मा ७२ करोड ८५ लाख ६२ हजार रुपैयाँबराबरको २३ लाख ७९ हजार १९७ किलो र आव २०७९/८० मा ९१ करोड ५२ लाख ४६ हजार रुपैयाँबराबरको २८ लाख ६ हजार ८७१ किलो ओखर आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८१ को साउनदेखि असोजसम्ममा ३७ करोड ६५ लाख २२ रुपैयाँबराबरको १० लाख ९६ हजार ४०३ किलो ओखर भित्रिएको छ । यो गत वर्षको तुलनामा बढी हो । गत आवको सोही अवधिमा २६ करोड १७ लाख ३५ हजार रुपैयाँबराबरको ८ लाख ७ हजार ४४६ किलो ओखर आयात भएको थियो ।

पाँच वर्षको अवधिमा १ करोड २ लाख २४ हजार ८२९ किलो ओखर आयात भएको छ ।

ओखरका फाइदै-फाइदा

ओखरको आकार मानव मस्तिष्क जस्तै हुन्छ । त्यसकारण पनि यसलाई ‘ब्रेन फुड’ भनिन्छ । यसको सेवनले मस्तिष्कलाई स्वस्थ राख्छ । मस्तिष्कलाई तेज राख्न र स्मरण शक्ति बढाउन नियमित ओखर सेवन उपयुक्त मानिन्छ । गर्भवतीका लागि ओखर झनै प्रभावकारी मानिन्छ ।

ओखरमा सोडियम कम हुन्छ भने कोलस्ट्रोल कति पनि हुँदैन । तर, प्रशस्त मात्रामा ओमेगा ३ पाइन्छ । ओखर भिटामिन ए, बी ६, बी १२, सी, डी, ई र के को स्रोत हो । यसमा प्रोटिन पनि पाइन्छ ।

त्यस्तै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक र कपर पनि ओखरमा प्रचुर मात्रामा पाइन्छ ।

ओखरले मांसपेशीलाई बलियो बनाउन सहयोग गर्छ । क्याल्सियमको मात्रा धेरै हुने भएकाले ओखरले हड्डीलाई पनि मजबुद बनाउँछ ।

दैनिक दुई वटा ओखर खाएमा कोलस्ट्रोल नियन्त्रण हुनुका साथै मुटु रोगबाट बचाउँछ । तौल नियन्त्रणका लागि पनि ओखरको सेवन राम्रो मानिन्छ । ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनाले महिनावारी पनि नियमित हुने चिकित्सकहरु बताउँछन् ।

रुघाखोकीको उपचारमा समेत ओखर उपयोगी हुने विभिन्न अध्ययनले देखाएका छन् । ओखरलाई हल्का भुटेर महसँग खाँदा खोकी ठिक हुन्छ । ओखरको तेल छाला र केसलाई मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ ।


क्लिकमान्डु