पर्यटन आय पोहोरभन्दा ५१ प्रतिशतले बढ्यो



काठमाडौं । पर्यटन क्षेत्रबाट प्राप्त हुने आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा पर्यटन क्षेत्रबाट नेपालले १७ अर्ब १ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकमा उल्लेख छ ।

गत वर्ष सोही अवधिमा ११ अर्ब २४ करोड रुपैयाँ मात्र आर्जन भएको थियो ।

कोरोना महामारीले पर्यटन क्षेत्र प्रभावित हुँदा आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामा पर्यटन क्षेत्रबाट ५ अर्ब ४२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको थियो । पछिल्लो समय पर्यटक आवागमनमा वृद्धि हुँदा पर्यटन क्षेत्रबाट हुने आम्दानीसमेत बढेको हो ।

गत आर्थिक वर्षमा नेपालले पर्यटन क्षेत्रबाट ६१ अर्ब ५२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा कमाएको थियो । अघिल्लो वर्ष पर्यटन आम्दानी ३२ अर्ब ४४ करोडमा सीमित थियो ।

सन् २०२३ को अक्टोबरमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक आवागमन भएकाले आगामी दिन पर्यटन क्षेत्रको आम्दानी थप बढ्ने देखिन्छ ।


क्लिकमान्डु