टिकटकमाथिको प्रतिबन्ध संविधान प्रदत्त स्वतन्त्रताको गम्भीर उल्लंघन: फ्रिडम फोरम
काठमाडौं । फ्रिडम फोरमले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्धलाई संविधान प्रदत्त स्वतन्त्रताको गम्भीर उल्लंघन भएको बताएको छ ।
फ्रिडम फोरमले विज्ञप्ति जारी गरी टिकटकलाई पूर्ण प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयप्रति गहिरो चिन्ता र निराशा व्यक्त गरेको जनाएको छ ।
‘मन्त्रिपरिषद्को यो निर्णय अत्यन्तै असामयिक र निरङ्कुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाउने निष्कर्ष हाम्रो छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारको यस निर्णयले नेपालको संविधानको धारा १७ (२)(क) मा उल्लिखित अभिव्यक्ति स्वतन्त्रता र धारा १९ ले प्रत्याभूत गरेको सञ्चारको हकको संवैधानिक प्रत्याभूति एवं मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा नेपाल पक्ष राष्ट्र भएको नागरिक र राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ को धारा १९ समेतको उल्लंघन गरेको फ्रिडम फोरमको जिकिर छ ।
विज्ञप्तिमा संवैधानिक अधिकार र नेपालमा जीवन्त डिजिटल परिदृश्यको व्यापक प्रभावलाई ध्यानमा राख्दै निर्णय सच्याउन सरकारसमक्ष माग गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।