टिकटक प्रतिबन्ध लगाउने सरकारले अरु सामाजिक सञ्जालमाथि पनि प्रतिबन्ध लगाउन सक्छ : लिङ्देन

238
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय अनुचित भएको टिप्पणी गरेका छन् ।

सोमबारको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि नेताहरुले त्यसको बिरोध गरिरहेका छन् । यसैक्रममा लिङ्देनले यो निर्णय अनुचित र अनुपयुक्त भएको बताएका हुन्।

सामाजिक सञ्जालमा हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको भन्दै प्रतिबन्धलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ ।

‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरूबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो,’ उनले लेखेका छन्, ‘कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ। तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न ।’

टिकटकमाथि प्रतिबन्ध लगाएसँगै अन्य सामाजिक सञ्जालमाथि पनि सरकारले प्रतिबन्ध लगाउन सक्ने आशंका उनको छ ।

‘आज टिकटक माथिको प्रतिबन्ध सुरूवात मात्र हो, भोलि एक्स,फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाइने अंकुशको विरोध गरिन्छ। टिकटको माथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ,’ लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन् ।