टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिड्यो, सच्याउनु पर्छ: गगन थापा



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको आरोप लगाएका छन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले त्यसको बिरोध गरेका हुन् ।

‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ,’थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो ।’

उनले एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्ने भन्दा पनि सरकारको नियतको विषय भएको उल्लेख गरेका छन् ।

‘यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन’ थापाले लेखेका छन् ।


क्लिकमान्डु