आज काग तिहार मनाइँदै, यमपञ्चक सुरू



काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीको साँझ शनिबार (आज) यमदीपदान सुरु गरेसँगै यो वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ ।

कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए ।

आइतबार बिहान अरुणोदय कालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धन, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

भाइटीका कात्तिक २९ गते १०ः५१ बजेको साइत उत्तम

कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यो दिन बिहान १०ः५१ बजे भाइटीकाको उत्तम साइत पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।


क्लिकमान्डु