नेपालको भीएसडीटीए र कोरियाको गिफ्ट्सबीच सम्झौता, नेपालमै सीप सिकेर जान सकिने



काठमाडौं । नेपालको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान (भीएसडीटीए) र कोरियाको ग्लोबल इन्स्टिच्यूट फर ट्रान्स्फरिङ स्किल (गिफ्ट्स)बीच सीप तालिम प्रदान गर्न सहकार्य गर्ने सम्झौता हस्ताक्षर भएको छ ।

नेपालको तर्फबाट प्रतिष्ठानको प्रमुख कार्यकारी निर्देशक उमाकान्त आचार्य र गिफ्ट्सको तर्फबाट कार्यकारी निर्देशक ब्यूङ वुक लीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा अब गिफ्ट्सले व्यवसायिक तालिम प्रदान गर्न नेपाललाई सहयोग गर्नेछ । नेपालको श्रम सम्झौता भएको देशमध्ये युवाहरुको आकर्षक र सुरक्षित गन्तव्य बनेको दक्षिण कोरियामा जाने कामदारहरुलाई यसअघि तालिमको व्यवस्था थिएन ।

समग्रमा भाषा परीक्षाबाहेक अन्य सीपको व्यवस्था नहुँदा विभिन्न प्रकारका समस्या र घट्ना घट्दै आएको छ । त्यसैले, सरकारले यसलाई मध्यनजर गर्दै कोरिया जानका लागि तयार भएका कामदारहरुका लागि तालिम प्रदान गर्ने भएको छ ।

नेपालमा रहेको भीएडीटीएमार्फत् दक्ष कामदार उत्पादनका लागि गिफ्ट्सले नेपालको प्रतिष्ठानलाई आर्थिक र प्राविधिक सहयोग गर्नेछ ।

सोहीअनरुप नेपालले रुपान्तरण गरी अगाडि बढ्नेछ । नेपालमा दक्ष कामदार उत्पादन गर्न पहिलो चरण भएकाले सरकारले आगामी दिन कार्यविधि तयारी गरेर विभिन्न क्षेत्रको सीप प्रदान गरी सीप परीक्षण गरिनेछ ।

त्यस्तै, आज बसेको मन्त्रिपरिषद्को वैठकले पनि मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको राष्ट्रि व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित आदेश स्वीकृत गरेको छ । उक्त आदेशले आगामी दिनमा दक्ष जनशक्तिको विकास गरी कोरिया पठाउन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबलप्रसाद भण्डारीले बताए ।

उनकाअनुसार नेपालले २००८ मा श्रम सम्झौता गरेको दक्षिण कोरिया रोजगारी र सामाजिक सुरक्षाले निकै आकर्षक गन्तव्य बनेपनि तालिम र ज्ञानको अभावले आत्महत्यासमेत गरेका छन् । त्यसैले आज गरेको सम्झौतापश्चात के सीप सिकेर जाने, कति काम गर्नुपर्छ भन्ने विषयमा स्पष्ट हुनेछ ।

‘कोरिया सरकारले हरेक क्षेत्रमा गुणस्तरको कामदार खोजिरहेका छन् । त्यसका लागि नेपाल सरकारले दक्ष कामदार पठाउन सकेमा तोकेको मासिक तलबभन्दा पनि बढी रकम दिन तयार छन्,’ उनले भने, ‘अबका दिनमा नेपालले गुणस्तरीय कामदार पठाएमा नेपाल र कोरिया सरकार दुबैलाई सहज हुनेछ ।’

समझदारीअनुसार कोरियामा जानका लागि परीक्षामा पास भएका कामदारका लागि विभिन्न सीप प्रदान गर्नेछ । साथै, सीप प्रदान गरिसकेपछि परिक्षण गरेर पठाउन मद्दत गर्नेछ ।

प्रतिष्ठानका प्रमुख कार्यकारी निर्देशक उमाकान्त आचार्यले गिफ्ट्ससँग हस्ताक्षर भएसँगै आगामी दिनमा सीप सिकाएर कामदार पठाउँदा अहिलेकोभन्दा राम्रो वातावरण सिर्जना हुने बताए । कोरियाको तालिम प्रदान गर्ने क्षेत्रमा प्रतिष्ठित व्यवसायिक कम्पनीको रुपमा स्थापना भएको कम्पनीसँग हस्ताक्षर गरेसँगै गुणस्तरको कामदार पठाउन सहकार्य गर्ने माध्यम बनेको उनको भनाइ छ ।

उनकाअनुसार दुई देशबीच भएको सीप तालिमको सम्झौताले दक्षिण कोरिया जाने नेपालीलाई मात्रै नभएर फर्किएर आउने श्रमिकलाई पनि पुनःस्थापना गर्न सहज हुनेछ ।

एचआरडी कोरियाअन्तर्गत गिफ्ट्सका कार्यकारी निर्देशक ब्यूङ बुक लीले दक्षिण कोरिया विकासमा नेपालीहरुको ठूलो योगदान रहेकाले सीप प्रदान गर्न सहकार्य गर्नु आवश्यक रहेको बताए । हस्ताक्षरपश्चात कोरिया जाने कामदारहरुले सीप सिकेर जाँदा सहज हुनेछ ।


क्लिकमान्डु