कामना सेवाको १७औं वार्षिकोत्सव विशेष १७ कार्यक्रम सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंकले १७औं वर्ष प्रवेशको अवसरमा आयोजित सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शुक्रबारदेखि बिहीबारसम्ममा १७ वटा कार्यक्रम गरेको हो ।
कार्यक्रमअन्तर्गत बुधबार बैंकले कावासोतीमा डिजिटल मेला गरेको छ । मेलामा बैंकले कावासोती बाजारका व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ । कार्यक्रममा ४२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ भने १० वटा नयाँ क्युआर रजिष्ट्रेसन गरिएको छ ।
वार्षिकोत्सवकै अवसरमा बैंकले नवलपुरको सकलादेवी माविमा ‘समावेशी बैंकिङ शिक्षाः आजको आवश्यकता’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ ।
नवलपुरको देवचुली नगरपालिकामा भएको प्रतियोगितामा माध्यमिक तहअन्तर्गत नेपाल माविका छात्र सौर्य पौडेल प्रथम भए भने आधारभूत तहतर्फ सकला माविकी छात्रा आकृति चापागाईं प्रथम भइन् ।
बैंकले वार्षिकोत्सव सप्ताहका कार्यक्रमअन्तर्गत बिहीबार रोल्पा होलेरीको महेन्द्र माविमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई झोला हस्तान्तरण गरेको छ । विद्यालयका प्रधानाध्यापक वेदवेदान्त सुर्यवंशीलाई बैंकका पश्चिम क्षेत्रका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले झोला हस्तान्तरण गरे ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बिहीबार नै भैरहवास्थित संस्कृत विद्याश्रमलाई सोफा र टेबल प्रदान गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले विद्याश्रमका अध्यक्ष तथा समाजसेवी डीआर शर्मालाई सोफा तथा टेबल हस्तान्तरण गरे ।
हाल बैंकले १३५ सञ्जाल, ७७ एटीएम तथा १७ शाखारहित बैंकिङ केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ ।