बैंकहरुको ‘नेट ट्रेडिङ इन्कम’ १० करोड बढ्यो, कुनको कति ?*



काठमाडौं । सेयर बजारमा गिरावट आउँदा पनि बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी भने बढेको छ । बजार ओरालो लागेका बेला पनि बैंकहरुको ‘नेट ट्रेडिङ इनकम’ भने बढेको हो ।

तर, ‘नेट ट्रेडिङ इनकम’मा सेयरको मात्र नभएर डलर कारोबारबाट हुने आम्दानी पनि समावेश हुने भएकाले कतिपय बैंकहरुको तथ्यांक सेयर घट्दा पनि ठूलो देखिएको हो ।

बैंकहरुले असोज मसान्तसम्म सेयर कारोबारबाट १ अर्ब ४० करोड २१ लाख १२ हजार रुपैयाँ आम्दानी गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ७.७६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले १ अर्ब ३० करोड १० लाख ९६ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमा ९ वटा बैंकको नेट ट्रेडिङ इनकम घटेको छ भने ९ वटा बैंकको बढेको छ भने २ वटा बैंकको ऋणात्मक छ ।

नेट टे्रडिङ इनकम घटेका बैंकमा स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन, माछापुच्छ्रे, एनएमबि, प्राइम, लक्ष्मी सनराइज, नेपाल र नेपाल एसबिआई बैंक छन् ।

यस्टै नेट टे्रडिङ इनकम बढ्नेमा ग्लोबल आइएमई, सानिमा, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, एभरेष्ट, सिद्धार्थ, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक छन् । असोज मसान्तसम्म सिटिजन्स र कृषि विकास बैंकको नेट ट्रेडिङ इनकम ऋणात्मक छ ।

गत आवको असोज मसान्तमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ नेट ट्रेडिङ इनकम रहेको सिटिजन्स बैंकको अहिले ३५ लाख ३८ हजार रुपैयाँ ऋणात्मक छ ।

यस्तै कृषि विकास बैंकको नेट ट्रेडिङ इनकम गत आवको असोज मसान्तमा ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ थियो । चालु आवको सोही अवधिमा ३ करोड ५ लाख ७४ हजार रुपैयाँ ऋणात्मक छ ।

सबैभन्दा बढी नेट ट्रेडिङ इनकम गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको १६ करोड ६८ लाख ६० हजार रुपैयाँ छ । करोडभन्दा कम ट्रेडिङ इनकम गर्नेमा २ वटा बैंक रहेका छन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल एसबिआई बैंकले सेयर कारोबारबाट लाखमा कमाएका हुन् ।

राष्ट्र बैंकले बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । बैंकहरुले सो सुविधामार्फत सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्छ ।

बैंकहरुले राष्ट्र बैंकको प्रावधानमा रहेर सेयरमा गरेको लगानीबाहेक सेयर खरिद-बिक्री गरी कमाएको आम्दानी अन्य सञ्चालन नाफामा राख्ने गर्छन् ।

*सच्याइएको


क्लिकमान्डु