बागमती प्रदेशले भ्रमण वर्ष मनाउने



बागमती । बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले बताए ।

बैठकले सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने, प्रदेशका केही उपसचिवलाई प्रदेश सचिवमा (अधिकृतस्तर एघारौँ तह) बढुवा गरी नियुक्ति र पदस्थापन गर्ने, प्रदेश प्रमुखको कार्यालय सवलीकरण गर्ने, उपसभामुखको अष्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेशाज्ञाका लागि सिफारिस गर्ने र पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तामन्त्री श्रेष्ठले जानकारी दिए ।


क्लिकमान्डु