घट्न थाल्यो बैंकको ब्याजदर, कुनको बेसरेट कति ?



काठमाडौं । बैंकहरुले कर्जाको ब्याजदर घटाउन थालेका छन् । बैंकको बेसरेट (आधारदर) घट्दा कर्जाको ब्याजदर पनि घटेको छ ।

बैंकहरुको औषतमा बेसरेट एकल अंकमा झरेको छ । बैंकहरुले ऋणीलाई कर्जा प्रवाह गर्दा आधारदरमा कर्जाको प्रकृति हेरेर प्रिमियम थपेर ऋण दिने गरेका छन् ।

बैंकहरुले आधारदरमा अधिकांश ५ प्रतिशतसम्म प्रिमियम थप्ने गरेका छन् । गत आवको पहिलो त्रैमासमा बैंकहरुको औषतमा आधारदर १०.०९ प्रतिशत रहेको थियो । अहिले औषतमा ९.९९ प्रतिशत रहेको छ । बैंकको आधारदर औषतमा एकल अंकमा झर्दा १३ वटा बैंकको घटेको छ ।

२० वटा बैंकमा ११ वटा बैंकको आधारदर १० प्रतिशत भन्दा बढी रहेको छ भने बाँकी ९ वटा बैंकको आधारदर १० प्रतिशत भन्दा कम रहेको छ । अर्थात एकल अंकमा झरेको छ ।

बैंकको आधारदर घटाउने बैंकमा कुमारी, प्राइम, सिटिजन्स, एनआईसी एशिया, प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, एनएमबि, सानिमा, सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंक र स्टयान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

यस्तै आधारदर बढाउने बैंकमा हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास बैंक, नेपाल एसबिआई, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, नबिल र नेपाल बैंक रहेका छन् ।

आधारदर एकल अंकमा हुने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, एभरेष्ट, नबिल, सिद्धार्थ, नेपाल, राष्ट्रिय वाणिज्य र स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ ।

सबैभन्दा बढी आधारदर कुमारी बैंकको १०.९१ प्रतिशत रहेको छ भने सबैभन्दा कम स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४२ प्रतिशत रहेको छ ।

असोज मसान्तसम्म कृषि विकास बैंकको आधारदर दोहोरो अंकमा रहेको छ भने नेपाल र राष्ट्रिय वाणिज्य बैंकको आधारदर एकल अंकमा रहेको छ ।


क्लिकमान्डु