३९औं एबीए कन्फ्रेन्सः बैंकिङ क्षेत्रका विश्वव्यापी चुनौतीमाथि गहन छलफलको तयारी



काठमाडौं । नेपालमा ३९औं एसियन बैंकर्स एसोसिएसन (एबीए) जनरल मिटिङ एन्ड कन्फ्रेन्स आयोजना हुने भएको छ । नेपाल बैंकर्स एसोसिएसनको आयोजनामा कात्तिक २३ र २४ गते काठमाडौंमा एबीए जनरल मिटिङ एन्ड कन्फ्रेन्स हुने भएको हो ।

‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एन्ड सस्टेन्ड ग्रोथ’ विषयक सम्मेलनमा एबीएका सदस्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले अनुभव आदानप्रदान गर्नुका साथै विविध विषयमा विचार विमर्श गर्नेछन् ।

सम्मेलनमा अहिलेको संकटपूर्ण विश्व आर्थिक परिस्थिति र विकसित घटनाक्रमले बैंक तथा वित्तीय क्षेत्रमा पार्ने प्रभावका विषयमा विज्ञहरुले धारणा राख्नेछन् । बैंकिङ उद्योग-सम्बद्ध सरोकारवालाहरुले कसरी विश्व आर्थिक संकटले निम्त्याएका चुनौतीको सामना गर्न सक्छन् र यसलाई अवसरका रुपमा लिएर पूर्ण फाइदा लिन सक्छन् भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

त्यस्तै सम्मेलनमा ‘ग्लोबल मार्केट ट्रेन्ड’, ‘डिजिटल ट्रान्फर्मेसन’, ‘ईएसजी बैंकिङ स्ट्राटेजी’ र ‘सीईओ फोरम’ शीर्षकमा पनि छलफल गर्ने कार्यक्रम छ ।

‘ग्लोबल मार्केट ट्रेन्ड’ शीर्षकमा बैंकिङ क्षेत्रको भविष्यलाई आकार दिने विषयमा छलफल हुनेछ भने ‘डिजिटल ट्रान्फर्मेसन’ शीर्षकमा प्रविधिको विश्वसनीयतालाई बलियो बनाउने तथा आर्टिफिसियल इन्टेलिजेन्सलाई ग्रहण गर्ने विषयमा अनुभव आदानप्रदान हुनेछ ।

त्यसैगरी, ‘ईएसजी बैंकिङ स्ट्राटेजी’ शीर्षकमा नीति, सिद्धान्त र लाभका विषयमा छलफल हुनेछ । ईएसजी स्ट्राटेजी पर्यावरण, समाज र शासनसँग सम्बन्धित मुद्दाहरुमा केन्द्रित हुन्छ । ‘सीईओ फोरम’ शीर्षकमा बदलिँदो परिवेश र अनिश्चितताको सामना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

बिहीबार र शुक्रबार गरी करिब १६ घण्टा चल्ने सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न देशका १५० भन्दा बढीको सहभागिता रहनेछ । सम्मेलनमा विभिन्न देशका २४ वक्ताले विज्ञका रुपमा ज्ञान, अनुभव तथा दृष्टिकोण साझा गर्नेछन् ।

सम्मेलनमा नेपालबाट बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीसहित अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणालगायतका विज्ञका रुपमा धारणा राख्नेछन् ।

विश्वभरका ६६ बैंक तथा वित्तीय संस्था एबीएका सदस्य छन् ।


क्लिकमान्डु