काठमाडौं महानगरले छाडा पशुचौपायालाई काञ्जी हाउसमा राख्ने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले छाडा पशुचौपायालाई काञ्जी हाउसमा राख्ने भएको छ । महानगरले कात्तिक २३ देखि सडकमा भेटिएका गाईवस्तु संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको हो ।
महानगरपालिका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सडकमा भेटिएका गाईवस्तु संकलन गरेर काञ्जी हाउसमा राख्ने जानकारी दिएका हुन् ।
‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन्, बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ,’ उनले लेखेका छन्, ‘उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ ।’
उनले काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका बताए । त्यस्तै, हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएको जानकारी दिए ।
दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गर्ने उनको भनाइ छ ।