राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौं: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिने बताएका छन् ।
टी२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम हस्तान्तरण गर्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताए ।
‘सबैभन्दा पहिला तपाईंहरुलाई बधाई छ । तपाईंहरुले उत्कृष्ट प्रदर्शन गर्नुका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल टी२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला । कतिपय बेला जित र हार संयोगको कुरा पनि हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले आफूले क्रिकेट हेर्दै आएको र अहिलेको टिम नेपालको बेस्ट टिम भएको महसुस गरेको बताए । ‘क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ,’ उनले भने, ‘यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ । खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो ।’
क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउने उनले बताए । ‘भरतपुर, मूलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ । यसरीमात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ । क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं,’ उनले भने ।
घोषणा गरेको पुरस्कार हस्तान्तरणमा ढिलाइ हुँदा आफूलाई अलि नमिठो लागेको प्रधानमन्त्रीले बताए । ‘हाम्रा केही कानुनी र प्रक्रियागत समस्या छन् । त्यसले पनि ढिलो हुन गयो । आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउनेछ । टी२० विश्वकपमा छनोटको पुरस्कार छिट्टै वितरण गरिनेछ,’ उनले भने ।
कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट उत्साहित भएको बताए ।
‘यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं । कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ । सरकारको पहलप्रति आभारी छौं । बाँकी रहेका काम पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं,’ उनले भने ।