नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरूलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

मंगलबार उद्योग वाणिज्य महासंघका अध्यक्ष अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलीसँग छलफलका क्रममा यस्तो आग्रह गरेका हुन् । भेटमा नेपालको आर्थिक विकासमा एशिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवं विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलब्धी हासिल गरिसकेको र अबको यात्रा समृद्धि नै भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीहरुलाई आग्रह गरे ।

नेपालले राष्ट्रिय एवं अन्तराष्ट्रिय लगानी आव्हान गरिरहेको र नेपालमा लगानीका लागि अतिनै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास उनले सो अवसरमा दिलाए ।

महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रीत भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एशिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने थप स्पष्ट पारे ।

क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहयोग पुुरयाउन क्यासी तयार रहेको प्रतिवद्धता जनाए ।

नेपालले छोटो अवधिमा पनि उत्कृष्ट कार्यक्रम आयोजना गर्न सफल भएकोमा उनले खुशी व्यक्त गरे । विश्व आर्थिक मन्चमा ठूलो हिस्सा ओगट्ने एशिया प्रशान्त क्षेत्र नेपालको विकास अभियानमा बलियो सहयोगी हुने उनले विश्वास दिलाए ।

महासंघको आयोजनामा कात्तिक २० गतेदेखि काठमाडौंमा क्यासीको ३७ औं सम्मेलन आयोजना भइरहेको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले हिजो उद्घाटन गरेका छन् ।

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय संजाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपर्ण विषयहरुमा दुुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरुले बिचार विमर्श गरीरहेका छन् ।


क्लिकमान्डु